मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

आजका प्रमुख समाचारका शीर्षकहरु :

  • प्रधानमन्त्रीले भने- ‘राजनीतिक स्वार्थका लागि ज्यानै लिने काम अस्वीकार्य’
  • लम्बोदर न्यौपानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
  • कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : शशांक कोइराला
  • बिहीबार थपिए १,२१७ संक्रमित, १,०६४ निको हुँदा थप १२ को मृत्यु
  • मंसिर २८ गते बोलाइयो संवैधानिक परिषदको बैठक
  • ‘प्रधानमन्त्री इमान्दार हो भने वाइडबडी लगायत सबै काण्डको निष्पक्ष छानविन गरौँ’
  • मिक्लाजुङ घटनाले बढायो त्रासः चन्द समूहमाथि प्रहरीको सूक्ष्म निगरानी
  • शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार
  • इटालियन लेजेण्ड पाउलो रोसीको निधन
  • अफगानिस्तानमा कार्यालय जाँदै गरेकी महिला पत्रकारको हत्या

प्रधानमन्त्रीले भने- ‘राजनीतिक स्वार्थका लागि ज्यानै लिने काम अस्वीकार्य’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि ज्यानै लिने काम स्वीकार्य हुन नसक्ने बताएका छन् । हरेक वर्ष १० डिसेम्बरमा मनाइने विश्व मानव अधिकार दिवसमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरूको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्नेजस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य हुन नसक्ने उनको चेतावनी छ । नागरिकको सुरक्षा र मर्यादापूर्वक बाँच्न पाउने हकलाई सरकारले सर्वोपरि महत्व दिने प्रधानमन्त्रीले बताए ।

उनले स्वस्थ तथा सन्तुष्ट जीवन, सुरक्षित र सुविधा सम्पन्न आवास, भौतिक सुविधा र सम्पत्ति उपरको समतामूलक पहुँच, विभेद, हिंसा र अपराधमुक्त समाज मानव अधिकारका पूर्व सर्तहरु भएको उल्लेख गरे । यसै अवधारणाअनुरूप सरकारले ‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भन्ने प्रतिवद्धता लिएको उनले बताएका छन् ।

लम्बोदर न्यौपानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

सामाजिक शैक्षिक संस्था निजीकरण गरी करोडौं हडप्न खोज्ने लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइवी० लाई अदालतले अनुमति दिएको छ ।

फाेटाे फायल

भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्वोदर न्यौपानेलाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले बुधबार म्याद थप गरिदिएको हो ।

जिल्ला न्यायाधिस माधवप्रसाद अधिकारीको एकल इजलासले सिआइवीलाई अन्तिम पटक सात दिनका लागि थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरिदिएको हो ।

यसअघि सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । उनलाई तेश्रो तथा अन्तिम पटक थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग यहाँ बिहीबार कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गरे ।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उनले बताए ।

बिहीबार थपिए १,२१७ संक्रमित, १,०६४ निको हुँदा थप १२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २१७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितमध्ये थप १ हजार ६४ जना निको भइसकेका छन् । यस्तै बिहीबार थप १२ जनाको मृत्यु भएको छ । यस्तै आज क्वारेन्टिनमा ५१५ जना रहेका छन् भने १२ हजार ३८६ रहेको छ ।

आजको अपडेटसँगै कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । जसमध्ये २ लाख ३१ हजार ६०१ जना निको भइसकेका छन् । मृतक संख्या १ हजार ६६३ पुगेको छ ।

मंसिर २८ गते बोलाइयो संवैधानिक परिषदको बैठक

संवैधानिक परिषदको बैठक आउँदो मंसिर २८ गते बस्ने भएको छ । ४८ घण्टा अघि नै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज उक्त जानकारी गराइएको हो ।

विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । बैठक आउँदो आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।

‘प्रधानमन्त्री इमान्दार हो भने वाइडबडी लगायत सबै काण्डको निष्पक्ष छानविन गरौँ’

बाबुराम भट्टराई। फाइल फोटो।

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार हो भने वाइडबडी लगायत सबै काण्डहरूको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीको एक भिडियो पोष्ट गर्दै उनले यस्तो बताएका हुन् । नेता भट्टराईले प्रधानमन्त्री ओलीको ‘म भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न’ भन्ने नीतिलाई पनि उनले लोक कथासँग तुलना गरेका छन् ।

मिक्लाजुङ घटनाले बढायो त्रासः चन्द समूहमाथि प्रहरीको सूक्ष्म निगरानी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधिमाथि सूक्ष्म निगरानी बढाईने भएको छ । करिब दुई वर्षदेखि भूमिगत रहेको चन्द समूहले मोरङमा एक शिक्षकको हत्या गरेसँगै प्रहरीले देशभर हतियारसहित गस्ती बढाउँदै सूक्ष्म निगरानी गर्ने भएको हो ।

प्रहरी प्रधान कार्यालयले चन्द समूहका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको हो । ब्यारेक र कार्यालय तथा चन्द समूहका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

चन्द समूहले मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका-१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेपछि प्रहरी थप सतर्क बनेको हो । यसअघिका हिंसात्मक गतिविधिको चन्द समूहले सजिलै जिम्मा लिने गरेको थिएन तर मंगलबार मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्नेप्रति प्रहरी संवेदनशील बनेको हो ।

शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार

विनास्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।

यही मङ्सिर १९ गते सो आयोगका तत्कालीन १३ जना सदस्यको अनुमतिमा आफूहरुले प्रतिवेदन प्रकाशन गरेको जनाउँदै एनसिई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा मन्त्रालयले आफूहरुसँग सम्बन्ध विच्छेद र सहकार्य नगर्न दातृ निकायलाई आग्रह गर्ने निर्णय गरेकामा ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयले मङ्सिर २१ गते विज्ञप्ति जारी गरी उक्त संस्थालाई प्रतिलिपी अधिकार ऐनअन्तर्गत कारवाही गर्न गृह मन्त्रालयमा लेखी पठाउने पनि जनाएको थियो । प्रतिवेदन प्रकाशन सहयोगमा नाम जोडिएको ग्लोबल एक्सन नेपालले प्रकाशनबारे छलफल भए पनि औपचारिक सम्झौता नभएको जनाएको छ ।

एनसिई नेपालले आयोगको प्रतिवेदन सार्वजनिक भई यसमाथि गहिरो विमर्श होस् र यसका सकारात्मक सिफारिश लागू भई मुलुकको सार्वजनिक शिक्षा प्रणालीको गुणस्तर सुधारमा थप योगदान पुगोस् भन्नेबाहेक आफूहरुको अन्य कुनै मनसाय नभएको पनि स्पष्ट गरेको छ ।

इटालियन लेजेण्ड पाउलो रोसीको निधन

 इटलीका फुटबल लिजेन्ड पाउलो रोसीको निधन भएको छ । इटालियन टिभी च्यानलले बिहीबार बिहान रोस्सीको निधन भएको खबर सार्वजनिक गरेको हो । उनको निधनको कारण भने खुलेको छैन ।

१९८२ को विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका उनको ६३ वर्षको उमेरमा निधन भएको हो । त्यतिबेलाको विश्वकप इटलीले जितेको थियो । विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको थियो । खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए । फाइनलसम्मै उनले उत्कृष्ट प्रदर्शन गरे, जसकारण गोल्डेन बुटसँगै १९८२ को बेलोन डि अर र युरोपेली वर्ष खेलाडीको अवार्ड समेत जिते ।

युुभेन्टस् र एसी मिलानबाट व्यवसाहिक फुटबल खेलेका रोसीले दुुई पटक सिरिए उपाधि र युरोपेली कप पनि जितेका थिए । उनले आफ्नो करियरमा इटलीका लागि ४८ वटा अन्तर्राष्ट्रिय खेल खेले, जसमा कुल २० गोल गरे ।

अफगानिस्तानमा कार्यालय जाँदै गरेकी महिला पत्रकारको हत्या

अफगानिस्तानमा कार्यालय जाँदै गरेकी एक महिला पत्रकारको गोली हानी हत्या भएको छ । जलालाबादस्थित कार्यालय जाने क्रममा अज्ञात समूहको गोली प्रहारबाट पत्रकार मलाला माइवन्डको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी चढेको गाडीभित्रै गोली हानी हत्या गरिएको हो ।

बीबीसीका अनुसार उनको साथमा रहेका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको छ । माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन् । यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो । हत्या गर्ने समूहको अझैसम्म पहिचान भएको छैन ।

प्रतिक्रिया