मोरङ प्रहरीको विशेष सुरक्षा अभियान– सार्वजनिक स्थानमा यातायातलाई भयरहित बनाउनमा जोड

विराटनगर । ‘समुदाय–साझेदारी प्रहरी’अन्तर्गत जिल्ला प्रहरी कार्यालय, मोरङले यौनजन्य दुर्व्यवहारविरुद्धको विशेष सुरक्षा अभियान कार्यक्रम आयोजना गरेको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको बिहीबार अन्तिम दिन जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र वडा प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा विशेष सुरक्षा अभियान कार्यक्रम आयोजना गरेका हुन् ।

|यौनजन्य गतिविधिबारे यात्रुलाई सचेत गराउँदै प्रहरी। तस्वीरः सुजता लिम्बू, मकालु खबर|

विराटनगर बस पार्क, कञ्चनबारीलगायतका बढी सवारी साधनको चाप हुने स्थानमा प्रहरीले सवारी रोकेर यात्रुहरुलाई हिंसासम्बन्धी सचेत गराएका छन् ।

सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा महिलाहरुमाथि हुने यौनजन्य दुर्व्यवहारविरुद्ध सम्बन्धित निकायसँग सहकार्य गरेर सुरक्षा अभियान सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङकी महिला सेल प्रमुख प्रहरी निरीक्षक एल्जिना राईले जानकारी दिइन् । ‘सार्वजनिक स्थल र सार्वजनिक यातायातका सवारी साधनहरुमा महिला बालबालिकाविरुद्ध हुने यौनजन्य दुर्व्यवहारका घटनाहरुमा खुलेर आवाज उठाउन अभिप्रेरित गर्ने उद्देश्यले पनि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो’, राईले बताइन् ।

|विशेष अभियानमा सरिक प्रहरी अधिकारीहरु। तस्वीरः सुजता लिम्बू, मकालु खबर|

पीडितले दुर्व्यवहार गर्ने व्यक्तिको बारेमा खुलेर प्रहरीसमक्ष भन्न सके दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न र सार्वजनिक स्थान र सार्वजनिक यातायातलाई भयरहित, मर्यादित साथै यौनजन्य दुर्व्यवहारमुक्त बनाउने उद्देश्यले प्रहरीले यस्ता खालको कार्यक्रमको आयोजना गरिएको राईको भनाइ छ ।

प्रतिक्रिया