नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्छ : ​​​​​​​शेखर गोल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघभित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

महासंघभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने उनले बताए । देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफू विगत देखि नै लागि परेको बताए । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सधैँ पक्षमा रहेर वकालत गरेको भन्दै उनले अब महासंघमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताए ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफूहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवासयीहरुले बताए ।

प्रतिक्रिया