बागलुङमा साढे एक हजार निजी आवास पुनर्निर्माण

बागलुङ । भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनर्निर्माण सम्पन्न भएको छ । बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ ।

भूकम्पले क्षति पुर्‍याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनर्निर्माणले गति लिएको जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको हो ।

जिल्लामा पुनर्निर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको घर पुनर्निर्माण र १७१ घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार ३१७ लाभग्राहीले पुनर्निर्माणका लागि र १२५ लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार ५२९ घर पुनर्निर्माण र जम्मा दुई घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिइन् ।

‘निजी आवासमा ६६ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएका छन्’, पाण्डेले भनिन्, ‘सम्झौता गरेका लाभग्राहीमध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७६६ घरले दोस्रो र एक हजार ५२९ घरले तेस्रो किस्ता बुझेका छन् ।’ तीमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्नपश्चात्को अन्तिम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङले जनाएको छ ।

प्रतिक्रिया