मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रमुख समाचारका शीर्षकहरु : –
–प्रधानमन्‍त्री वा मन्‍त्रीको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुँदैन’
–‘ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै’
– कोरोना अपडेट : बिहीबार थप १०५६ संक्रमित, १४८३ जना निको भए
– अख्तियारको ‘स्टिङ अपरेसन’ विवादबारेको बहस सकियो, माघ ८ गते निर्णय सुनाइने
– एआईजीको दरबन्दी थप नगर्न राज्य व्यवस्था समितिको निर्देशन
– बासमती धानबारे भारतले गरेको दाबीको नेपालले प्रतिवाद गर्ने
– राणाहरूले अफ्रिकाबाट ल्याएका सन्थाललाई एकीकृत बस्तीमा राख्ने सरकारको योजना
– राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा : मोहन वैद्य
– बार्सिलोनामाथि युभेन्टसको शानदार जित : रोनाल्डोले गरे दुई गोल
– अष्ट्रेलियामा थपियो ३ महिना यात्रा प्रतिबन्ध, नेपाली विद्यार्थी पनि प्रभावित

‘प्रधानमन्‍त्री वा मन्‍त्रीको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुँदैन’

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री, मन्त्री वा कुनै निकायको प्रयासमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव नहुने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारलाई सामाजिक रुपमै निन्दा भत्र्सना गर्नुपर्नेमा जोड दिए । ‘मैले प्रधानमन्त्री भएदेखि नै ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु । तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो’, प्रधानमन्त्री ओलीले भनेका छन् ‘भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भ्रत्र्सना गर्नु जरुरी हुन्छ ।’

भ्रष्टाचारमा सजाय गर्नुभन्दा स्रोतमै नियन्त्रण गर्नु बढी महत्वपूर्ण हुने ओलीको भनाइ छ । ‘भ्रष्टाचारमा सजाय गर्नुभन्दा स्रोतमै नियन्त्रण गर्नु बढी महत्वपूर्ण हुन्छ’, ओलीले भने, ‘त्यस दिशामा चालिएको यो महत्वपूर्ण कदम हो ।’

भ्रष्टाचारका विरुद्धमा विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष डिसेम्बर ९ को दिनलाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ । हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरेकोमा यो वर्ष कोभिड(१९ को महामारीका कारण भर्चुअल माध्यमबाट कार्यक्रम हुने जानकारीसमेत प्रधानमन्त्री ओलीले गराएका छन् । भ्रष्टाचारलाई विश्वव्यापी रुपमा दण्डनीय अपराध बनाउने मूल उद्देश्यका साथ सन् २००३ मा पारित महासन्धिको नेपाल फरवरी २०११ देखि नै पक्ष राष्ट्र बनिसकेको छ ।

ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर/रिठ्ठेवगर/रामचोकबेसी/नौथरबेँसी/शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका/११ चितीमा शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उनीहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।

कोरोना अपडेट : बिहीबार थप १०५६ संक्रमित, १४८३ जना निको भए

नेपालमा गत २४ घण्टामा एक हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

कोरोना संक्रमणका कारण गत २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या संख्या १ हजार ६५१ पुगेको छ ।

यस्तै १ हजार ४८३ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अख्तियारको ‘स्टिङ अपरेसन’ विवादबारेको बहस सकियो, माघ ८ गते निर्णय सुनाइने

सर्वोच्च अदालत। फाइल फोटो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ विवादबारे परेको रिटमाथिको बहस सकिएको छ । बुधबार उक्त रिटमाथिको बहस सकिएको हो । बुधबारको बहसपछि संवैधानिक इजलासले अब माघ ८ गते निर्णय सुनाउन वादी–प्रतिवादीलाई बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा हेरिरहेको छ। यसमा रिट निवेदकका कानुन व्यवसायीले भने आफ्नो बहस यसअघि नै सकेका थिए। विपक्षी वकिलहरूको बहस बुधबार सकिएपछि इजलास निर्णय सुनाउने निर्णयमा पुगेको हो ।

अधिवक्ता विष्णु घिमिरेले अख्तियारले आफैं घुस दिएर गर्ने गरेको ‘स्टिङ अपरेसन’ संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्चमा रिट दिएका थिए

एआईजीको दरबन्दी थप नगर्न राज्य व्यवस्था समितिको निर्देशन

फाेटाे फाइल

राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी नथप्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले सरकारलाई सो निर्देशन गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादललाई छलफलमा बोलाएर सो निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकमा मन्त्री थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताए ।

गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेको पनि बैठकमा बताए । सत्तारूढ दल नेकपाका सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावल, कांग्रेसका दिलेन्द्र बडू, डिला संग्रौलाले सरकारको उक्त निर्णयको विरोध गरेका थिए ।

मंसिर १५ गते बसेको बढुवा समिति बैठकले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसप्रति नेकपाकै कतिपय नेताको असन्तुष्टि रहेको थियो ।

गणतन्त्रलाई विदेशी एजेन्डा भन्नेलाई बाबुरामको सुझाव : लगौंटी लगाएर हिँड !

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई विदेशीको एजेन्डा भन्नेहरुलाई बकवास नगर्न भनेका छन् । पछिल्लो समय राजावादीहरू प्रदर्शनमा उठिरहँदा बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो स्टाटस लेखेका हुन् । उनले विदेशीका एजेन्डा भन्नेहरूलाई ‘लगौंटी लगाएर हिँड्न’ सुझाव दिएका छन् ।

बासमती धानबारे भारतले गरेको दाबीको नेपालले प्रतिवाद गर्ने

भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेको विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको हो ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमासमेत निर्यात हुने गरेकाले यसमा नेपालकोसमेत हक स्थापित हुनुपर्ने बताउँछन् ।

राणाहरूले अफ्रिकाबाट ल्याएका सन्थाललाई एकीकृत बस्तीमा राख्ने सरकारको योजना

शहरी विकास मन्त्रालयले उर्लाबारी स्थित सन्थालजातिको एकीकृत बस्ति निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी पठाएको छ ।

टोलीमा शहरी विकास मन्त्रालयका सह–सचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति, कृष्णप्रसाद तिमिल्सिना, डा। केदार दाहाल र निलमणी मिश्र छन् ।

टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी एकमहिनाभित्र मन्त्रालयलाई बुझाउने छ । उक्त टोलीलाई निर्देशन दिँदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरुलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्य अनुसार काम अघि बढाउनुपर्ने बताए ।

विवेकशील–साझाबीच दोस्रो पटक एकता

विवेकशील नेपाली दल र साझा पार्टीले दोस्रो पटक पार्टी एकता गरेको छ । बुधबार भर्चुअल कार्यक्रम गरी फुटेका दुई पार्टीले एक भएको घोषणा गरेका हुन् । एकतापछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । रवीन्द्र मिश्र पार्टी अध्यक्ष बनेका छन् भने संयोजकमा मिलन पाण्डे छन् ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन् । सचिवालय २६ सदस्यीय छ । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ । चुनाव चिन्ह तराजु रहनेछ ।

राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा : मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको बताएका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन उदयपुर पुगेका महासचिव वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको बताए । जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको यो अवस्थामा आर्थिक सङ्कट समेत उत्पन्न हुँदै गएको उनको भनाइ छ ।

बार्सिलोनामाथि युभेन्टसको शानदार जित : रोनाल्डोले गरे दुई गोल

युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले बार्सिलोनालाई पराजित गरेको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए । रोनाल्डोले खेलको १३औ र ५२औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । त्यस्तै युभेन्टसका लागि अर्को गोल खेलको २०औ मिनेटमा वेस्टन म्याकेनीले गरेका थिए ।

युभेन्ट्सको खेलाडीको रुपमा बार्सिलोनाविरुद्ध पहिलो खेल खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पेनाल्टीमा दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस अघि यसै सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले पराजित गरेको थियो ।

योसँगै युभेन्टस समुह जी मा समुहमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोना पनि १५ अंकसँगै दोस्रो स्थानमा रहेको छ । दुवै क्लब अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । च्याम्पियन्स लिगमा बार्सिलोना २००६/०७ सिजनपछि पहिलो पटक समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रेलियामा थपियो ३ महिना यात्रा प्रतिबन्ध, नेपाली विद्यार्थी पनि प्रभावित

कोरोना संक्रमणको जोखिम बढेको भन्दै अष्ट्रेलियाले आफ्ना नागरिकलाई विदेश जान र विदेशी नागरिकहरुलाई स्वदेश फर्कन लगाउँदै आएको यात्रा प्रतिबन्ध अझै तीन महिनासम्म बढाएको छ । अष्ट्रेलियाले आगामी मार्च १७ तारिखसम्म यात्रा प्रतिबन्ध बढाएको हो । अष्ट्रेलियाका केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमरजेन्सी अवधिलाई थप तीन महिनासम्म बढाउने निर्णय भएको जानकारी दिएका छन् ।

अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर चलनमा आए पनि अष्ट्रेलियन सरकारद्धारा कोभिड रोकथाम र नियन्त्रणका लागि गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अझै यसको चुनौती कायमै रहेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो । अष्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो । यात्रा प्रतिवन्ध सकिए लगत्तै देश विदेशबाट अष्ट्रेलिया आवतजावत गर्नेहरु यात्राका लागि तयारी गर्दै थिए ।

प्रतिवन्ध तीन महिना थपिएसँगै अब मार्च १७ अघि कुनै पनि अन्तर्राष्ट्रिय यात्री आउने या अष्ट्रेलियन नागरिकहरू कानुनले छुट दिएको बाहेक विदेश जाने कार्य रोकिने भएको छ । यसबाट ठूलो मात्रामा अष्ट्रेलिया अध्ययन गर्न जाने विदेशी विद्यार्थीसमेत प्रभावित हुनेछन् ।

प्रतिक्रिया