प्रदेश १ को बजेट संशोधन गर्न प्रतिपक्षी संसदीय दलको माग

विराटनगर । प्रदेश १ काे नेपाली कांग्रेस प्रदेश संसदीय दलले हालको बजेट संशोधन गरी अर्को बजेट ल्याउन दबाब दिएकाे छ । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको बजेट असफल भएका भन्दै प्रतिपक्षी दलहरूले संशोधित बजेटको माग गरेका हुन् ।

संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले कृषि र रोजगारीलाई प्राथिमिकतामा राखेर बजेट ल्याएको भन्दै ढोल पिट्ने सरकारले किसानको समस्या नै बुझ्न नचाहेकाले उनीहरुको बिल्लीबाँठ भएको बताएका छन् । किसानलाई प्रत्यक्ष फाइदा पुग्ने र युवाहरुले रोजगारी प्राप्त गर्ने कार्यक्रम कार्यान्वयनमा समेत सरकार उदासिन देखिएको सचेतक कार्कीको आरोप छ ।

‘मुख्यमन्त्रीले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मात्रै गत वर्ष सम्पन्न भएको कामको १ अर्ब, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २८ केरोड भुक्तानी दिन बाँकी रहेको देखिन्छ’, उनले भने, ‘यस्तै अवस्था अन्य मन्त्रालयहरुमा पनि छ । उपभोक्ता समिति र निर्माण व्यवसायीले गरेका कामको समयमा भूक्तानी प्राप्त गर्न नसक्दा बिल्लिबाँठ भएको छ । उनीहरु भूक्तानीका लागि भौतारिरहँदा पनि कतै सुनुवाही नभएको अवस्था छ ।’

मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयका राज्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीको जिल्लामा यो समस्या नरहेकोबाट पनि सरकार उदांगो रहेको सचेतक कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रातो किताबमा परेका सम्पूर्ण योजनाहरु मन्त्रीहरुको मौखिक आदेशमा रोकिएको तर आफूलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुको मुख्यमन्त्री आफैँ धमाधम सिलान्याश गर्दै हिँडेको कार्कीले जिकिर गरे । सरकारले आफ्ना संसदहरुलाई रिझाउन निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विशेष कार्यक्रममा बजेट विनियाजन गरे पनि हालसम्म कार्यविधि तथा निर्देशिका नै नल्याइरहेको कार्कीको भनाइ छ ।

उनी भन्छन्- ‘एकातिर प्रदेशसभा सदस्यहरुलाई जनता माझ बदनाम गराउने र अर्कोतिर मन्त्रीज्युहरुले आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बजेट खन्याएर अर्को निर्वाचनमा जित्नका लागि जनता रिझाउने काम गरिरहेका छन् ।’

प्रतिक्रिया