राणाहरूले अफ्रिकाबाट ल्याएका सन्थाललाई एकीकृत बस्तीमा राख्ने सरकारकाे याेजना

काठमाडौं । शहरी विकास मन्त्रालयले उर्लाबारी स्थित सन्थालजातिको एकीकृत बस्ति निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी पठाएको छ ।

टोलीमा शहरी विकास मन्त्रालयका सह–सचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति, कृष्णप्रसाद तिमिल्सिना, डा. केदार दाहाल र निलमणी मिश्र छन् ।

टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी एकमहिनाभित्र मन्त्रालयलाई बुझाउने छ । उक्त टोलीलाई निर्देशन दिँदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरुलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्य अनुसार काम अघि बढाउनुपर्ने बताए ।

सन्थाल समुदाय, फाेटाे फायल

‘हामीले जस्तो योजना बनाउन खोजेका छौं, सोही अनुसार अध्ययन गर्नुस, हतारमा काल्पनिक योजना नबनाउनुस, सरोकावालसँग समन्वय गरेर प्रतिवेदन तयार गर्नुस ।’ मन्त्री श्रेष्ठले भने । उनले स्थलगत निरीक्षण गरी बस्ती बिकास गर्दा उनीहरुको संस्कृतिमा कुनै असर नपरोस भने ।

राणाहरुले अफ्रिकाबाट नेपाल भित्र्याएको भनिएको यी जातिको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने–‘तपाईहरुले गरेको यो अध्ययनले सरकारलाई सन्थाल जातिको एकिकृत र व्यवस्थित बस्ती विकास गर्न सहज पुग्नेछ ।’

सचिव डा. रमेश प्रसाद सिंहले स्थानीय सरकारको समन्वयमा बस्ती विकासको लागि पुर्वाधार निर्माण गर्ने स्थान पहिचान गर्ने, सुरक्षित बस्ती मापदण्ड अनुसार निर्माण गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गरे । ‘योजना बनाउँदा जातिको आय आर्जन, उनीहरुको छोराछोरीको शिक्षा र स्वाथ्य लगायतका विषयमा ध्यान दिएर मात्र बिस्तृत योजना तयारी गर्नुस । प्रदेश योजना आयोगसँग समेत समन्वय गरेर काम गर्नुस ।’ सिंहले टोलीलाई निर्देशन दिँदै भने ।

टोलीले आज बुधबारबाट काम थालेको छ । टोलीमा स्थानीय निकाय अधिकारी, विज्ञ, प्रदेश योजना आयोगका अधिकारी समेत सहभागी हुनेछन् । टोलीले एक महिनाभित्र विस्तृत अध्ययन प्रतिबेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ ।

मंसिर ९ गते मन्त्री श्रेष्ठ र सचिव डा रमेशप्रसाद सिंह सहितको टोलीले सन्थालबस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालबस्तीलाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न भनेपछि मन्त्री श्रेष्ठ उर्लाबारी स्थित बस्तीको अवलोकन गर्न गएका थिए ।

उर्लाबारीको नगरपालिका–८ स्थित नदी किनारामा रहेको सन्थाल जातिको प्रस्ताबित एकिकृत बस्तीको अवलोकन पछि शहरी विकास मन्त्री श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकिकृत बस्ती विकास गर्ने जानकारी दिएका थिए ।

बस्तीमा करिब ७० घर परिवारको दयनीय अवस्था देखेपछि आफुसँगै अवलोकनमा आएका सचिव सहितको टोलीलाई मन्त्री श्रेष्ठले तत्काल एकिकृत बस्ती बिकास गर्न निर्देशन दिएका थिए । नदीउकास क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीलाई तत्काल व्यवस्थित बस्तीको रुपमा विकास गर्न अनिवार्य भएपछि मन्त्रालयले टोली पठाएको मन्त्री श्रेष्ठको भनाई छ ।

लोपोन्मुख र सिमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने बताउँदै सचिव डा. सिंहले सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्ताबित एकिकृत बस्तीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।

०६८ को जनगणना अनुसार नेपालभरी यो समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ छ । सबैभन्दा धेरै झापा जिल्लामा करीब ३५ हजारको बसोबास छ ।

प्रतिक्रिया