शिक्षक हत्याको जिम्मेवारी विप्लव समूहले लियो, हत्यारा खोज्दै प्रहरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ । विप्लव समूहको मेची-कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको हो ।

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई चन्द समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको जंगलमा घाँटी रेटी हत्या गरेको थियो । विप्लव समूहले भने शिक्षक श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको उसको दाबी छ । शिक्षक श्रेष्ठलाई लामो समयदेखि सुराकी गर्दै आएको आरोप समेत लगाइएको छ ।

श्रेष्ठले २६ फागुन २०७६ मा पार्टीको मेची-कोशी ब्युरो बैठकमा प्रहरी बोलाएर दमन गराएको विज्ञप्तिमा दाबी गरिएको छ । ‘२०७० साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रूपैयाँ लुट्न सघाउ पुर्‍याएका थिए’, चन्द समूह विज्ञप्तिमा भनेको छ, ‘जनताका घर-घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता कार्यकर्ताहरूलाई बस्न-खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेका राजेन्द्र श्रेष्ठले त्यसप्रकारको पार्टीबिरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए ।’यसैबीच, प्रहरीले हत्यामा संलग्नको खोजीमा प्रहरीले तिब्रता दिएको छ । घटना भएपछि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन शुरु भईसकेको छ । हत्यामा संलग्नको खोजीका लागि तीन जिल्ला र प्रदेश प्रहरी कार्यालयका सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक कविन्द्र कार्कीले बताए । उनका अनुसार, मोरङ, पाँचथर र इलाम जिल्ला र प्रदेश प्रहरीको अनुसन्धान समूह खोजीका लागि खटिएका छन् ।

प्रतिक्रिया