त्रिविका आंशिक प्राध्यापकहरूको आन्दोलन : कक्षा र परीक्षा बहिष्कार गर्ने घोषणा

काठमाडौं । आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले कक्षा र परीक्षा बहिष्कार गर्ने घोषणा गरेका छन् । मंगलवार त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले पत्रकार सम्मेलन गरी विद्यार्थीको भौतिक उपस्थितिमा हुन लागेका परीक्षा र कक्षा बहिष्कार गर्ने घाषणा गरेको हो ।

समान कामको समान ज्याला हुनु पर्ने लगायतका माग राखेर आन्दोल गर्दै आइरहेकाे आंशिक प्राध्यापक केन्द्रीय कमिटीले पुस २ गतेदेखि उपकुलपति कार्यालय केन्द्रित आन्दोलन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे छ । कमिटिका सहअध्यक्ष राजन ढुंगानाले देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने बताएका छन् ।

समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापकसरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने माग आंशिक प्राध्यापकहरुको छ ।

त्रिविले गत भदौमा जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ लाई पुनर्लेखन गर्नसमेत प्राध्यापकहरुले माग गरेका छन् । निर्देशिकामा समान कामको समान ज्यालालाई नसमेटेको, आंशिक प्राध्यापकको पेशागत स्थायीत्व प्रदान गर्न नसकेको, आंशिक प्राध्यापकलाई अपमान हुने शब्द र वाक्य प्रयोग गरिएकाले स्वीकार गर्न नसकिने बताइएको छ ।

प्रतिक्रिया