गुणस्तरहिन स्प्रिट पठाएर सप्लायर्सले वीपीका चिकित्सकको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप

धरान । धरानको एक सप्लायर्सले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहिन स्प्रिट सप्लाई गरेर ठगी गरेको देखिएको छ । धरानको गर्ग इम्पेक्सले प्रतिष्ठानको विभिन्न विभागमा गुणस्तरहिन स्प्रिट पठाएको पाइएको हो ।

धरानका मेडिकल सप्लायर्स पवन अग्रवालको गर्ग इम्पेक्सले जनस्वाथ्यको खेलवाड हुनेगरी हानिकारक र गुणस्तरहिन स्प्रिट भिडाएको प्रतिष्ठानका चिकित्सकहरुले भनेका छन् । प्रतिष्ठानको विभिन्न विभागमा आइपुगेको स्प्रिट त्यहाँ कार्यरत चिकित्सकहरुले प्रयोग गरेपछि गुणस्तरहिन र रंग मिसिएको पाइएको हो ।

सप्लायर्सले पठाएको स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले पनि आवश्यक जाँच नगरी अस्पतालमा प्रयोगको लागि पठाएकोले चिकित्सकहरुको स्वास्थ्यमा समेत खेलवाड भएको चिकित्सकहरुको भनाई छ । ‘विगतमा आएका स्प्रिट गुणस्तरीय नै थिए, अहिले आएका स्प्रिट प्रयोग गर्दा हात नै हरियो भएको छ । यो जनस्वास्थ्यका हिसाबले हानिकारक छ ।’ प्रतिष्ठानका एक चिकित्सकले भने ।

गुणस्तरहिन स्प्रिट आएको सन्दर्भमा प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल प्रशासनमा गुनासो गरिसकेका छन् । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले चिकित्सकहरुबाट गुणस्तरहिन स्प्रिट आएको गुनासो गरेपछि तत्कालै उक्त स्प्रिट प्रयोग नगर्न निर्देशन दिइएको बताए । मकालु खबरसँग कुराकानी गर्दै डा. बरालले भने–‘ओपिडीमा कमसल स्प्रिट सामान आयो भनेर डाक्टरहरु बोतल नै लिएर आउनुभयो । त्यसपछि हामीले तत्कालै स्टोर किपरसँग कुरा गरेर गुणस्तर हेर्ने विभागसँग सोध्यौं, उहाँहरुले केही स्याम्पल टेष्टका लागि आएका स्प्रिट गुणस्तरहिन पाइएकोले फिर्ता गरिसकेको जानकारी दिए ।’

सहायक अस्पताल निर्देशक डा. बरालले सप्लायर्सले सुरुमा सेम्पल पठाउँदा राम्रै क्वालिटीको पठाएपनि पछि फरक सामान पठाएको हुन सक्ने भएर सबै विभागमा पठाएका स्प्रिटहरु फिर्ता ल्याइसकिएको जनाए । ‘झुक्किएर आएको होकि, नियतवस आएको हो खोजीको विषय हो । हस्पिटल डाइरेक्टर सरसँग छलफल गरेर के गर्ने निर्णयमा पुग्छौं ।’ डा. बरालले भने ।
मानिसले नपिउन् भनेर स्प्रिटमा हरियो रंग देखिने गरि कपर सल्फेट मिसाइएको हुन्छ । जुन स्प्रिटमा कपासमा चोप्दा रंग आउँदैन । तर, प्रतिष्ठानमा सप्लाई भएको गुणस्तरहिन स्प्रिटले रुवालाई मात्र होइन, हातलाई नै हरियो बनाइदिएको चिकित्सकहरुको भनाई छ ।

प्रतिष्ठानका गुणस्तर जाँच समितिका प्रमुख परमानन्द गुप्ताले विगतमा पनि स्प्रिटको नमुना कमसल आउँदा पटक–पटक क्यान्सिल भएको बताए । यसपटक प्रतिष्ठानमा सप्लाई भएको स्प्रिट आफुहरु कहाँ जाँचका लागि नआएको उनको भनाई छ । ‘यो स्प्रिटको नमुना परीक्षणका लागि आएकै छैन । यदि स्टोरले हामीलाई क्वालिटी जाँचका लागि पहिले नै दिएको भए त्यत्तिबेलै क्यान्सिल भइहाल्थ्यो ।’ उनले मकालु खबरसँग भने ।

स्प्रिटको गुणस्तरका विषयमा कुरा उठेपछि आफुहरुले पछि क्वालिटी जाँच गर्दा कमसल पाएको र तल्कालै फिर्ता पठाउन लगाएको उनको भनाई छ । ‘कतिपय सामानहरु क्वालिटी चेक नगरीकनै मगाएर प्रयोग गर्छन् । कतिपय चेक गरेपछि मात्र मगाइन्छ । यो स्प्रिटमा हामी कहाँ आएकै छैन ।’ उनले भने । गुप्ताले कमसल स्प्रिट कसले ल्यायो ठ्याक्कै यकिन गर्न नसक्ने जनाए ।

प्रतिष्ठानका चिकित्सकहरुको स्वास्थ्यमाथि नै खेलवाड हुनेगरी गुणस्तरहिन सामान पठाउने सप्लायर्सलाई कारबाही गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । चिकित्सा एवं दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले चिकित्सकहरुको स्वास्थ्यमाथि खेलवाड गर्ने गरी गुणस्तरहिन स्प्रिट सप्लाई गर्ने सप्लायर्सलाई कारवाही गर्नुपर्ने बताए । ‘रंग र स्प्रिट पुरै छुट्टिएको छ । हातमा स्प्रिट लागे धुँधा समेत नजाने रहेछ । गुणस्तरहिन सामान पठाउने सप्लायर्सलाई कारवाही हुनुपर्छ ।’ डा. पोखरेलले भने ।

उनका अनुसार प्रतिष्ठानमा उपचारार्थ आउने विरामीको अप्रेसन गरिसकेपछि उक्त स्थान समेत स्प्रिटले सफा गर्नुपर्ने भएकोले गुणस्तरहिन स्प्रिट प्रयोग गर्दा घाउमा पनि संक्रमण हुने उत्तिकै जोखिम रहेको बताए । ‘क्वालिटी कन्ट्रोलले पनि आएको सामान गुणस्तरीय छ छैन हेर्नुपर्दथ्यो । स्टोरले सामान हटाएर मात्र हुँदैन, कमसल सामान ल्याउनेलाई कारवाही हुनुपर्छ ।’
स्प्रिटमा ७० प्रतिशत अल्कोहल, ४ प्रतिशत मिथाइल र बाँकी पानी हुन्छ ।

यता प्रतिष्ठानका मेडिकल स्टोर प्रमुख सञ्जिव कर्णले भने सेम्पल टेस्टका लागि १५ दिन अगाडी उक्त स्प्रिट आएको बताउँदै गुणस्तरहिन भएको पाइएपछि फिर्ता लिइसकेको बताए ।

‘यो स्प्रिट सेम्पल टेस्टकालागि आएको थियो, हामीले विभिन्न विभागमा पठाएका थियौं, गुणस्तरहिन भएको गुनासो आएपछि सबै फिर्ता ल्याएर त्यसको ठाउँमा अर्को स्प्रिट पठाइसकेका छौं ।’ कर्णले भने । पहिले आएको सेम्पल टेस्ट गर्दा ठिक देखिएको भएपनि पछि पठाएको सेम्पलमा गुणस्तरहिन पाइएको उनको भनाई छ ।

प्रतिक्रिया