शिक्षक हत्या प्रकरण : मोरङका प्रहरी भन्छन्– ‘अहिले नै विप्लवतिर शंका गर्न मिल्दैन’

काठमाडाैं । मोरङमा गोली हानी एक शिक्षकको हत्या गरिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली प्रहारबाट हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, माेरङका अनुसार मृतक राजेन्द्र सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको जनाएकाे छ ।

उनी मंगलबार बिहान साढे ५ बजेतिर अपहरणमा परेका थिए । घटनाबारे जानकारी पाएलगतै परिचालित प्रहरीले उनकाे खाेजी सुरू गरेकाे थियाे । खाेजीका क्रममा उनकाे शव जंगलमा फेला परेकाे हाे ।

विप्लव समूहले हत्या गरेकाे हुन सक्ने आशंका गरिएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय माेरङका एसपी सन्ताेष खड्काले भने अनुसन्धानका क्रममा रहेकाले अहिले नै विप्लव समूहतिर आशंका गर्न नमिल्ने बताए ।

‘हत्या भएकाे भन्ने सूचना स्थानीयबाट आएको छ । प्रहरी घटनास्थलमा पुग्न अझै एक/डेढ घण्टा लाग्छ,’ एसपी खड्काले मकालु खबरसँगकाे कुराकानीमा भने, ‘प्रहरी घटनास्थल पुगेर अनुसन्धान नगरेसम्म यसले नै हत्या गरेकाे हाे भन्न सकिँदैन । अहिले नै विप्लवतिर आशंका गर्न मिल्दैन ।’

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कुमार कार्कीले पनि प्रहरी अनुसन्धानका क्रममा रहेकाले अहिले नै घटनालाई लिएर विप्लव समूहतर्फ आशंका गर्न नमिल्ने बताए । ‘हत्या हाे हाेइन, कसले गरेकाे हाे भन्ने अनुसन्धानपछि मात्रै यकिन गर्न सकिन्छ’, उनले मकालु खबरसँग भने ।

प्रतिक्रिया