विश्वमा कोरोनाले १५ लाख ५० हजारको ज्यान लियो 

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ९४ लाख नाघेको छ भने १५ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ७९ लाख ३४ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १५ लाख ५० हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ करोड ७० लाख ७ हजार २८४ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९० हजार ४४३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९८ हजार ७९२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ५०८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ९९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४०४ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार १०७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६६ लाख २८ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४२६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ३८८ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया