अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित ६ जना पक्राउ

ललितपुर । अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित ६ जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-१७ बाफलबाट ३ केजी ६३ ग्राम अवैध वन पैदावर रक्तचन्दन जस्तो देखिने २ थान काठको टुक्रा र पुरातात्विक/प्राचीन जस्तो देखिने १३१८ मोरू १ लेखिएको १ थान त्रिकोण आकारको पुरानो नेपाली मुद्रा सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१७ बस्ने सिन्धुली हरिहर गडी गाउँपालिका-८ ढाँडखोला घर भएका २८ वर्षीय राज कुमार भन्ने हरि बहादुर मोक्तान, सिन्धुली पिपलमाडे गाउँपालिका-३ खुर्सानीबारी स्थायी घर भएका ५० वर्षीय टिकराम तामाङ रहेका छन् । यस्तै काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने नुवाकोट लिखु गाउँपालिका-२ थाङचिङ स्थायी वतन भएका ३१ वर्षीय प्रेम कुमार डंगोल, काठमाडौं महानगरपालिका-१५ कलंकी बस्ने झापा मेचीनगर नगरपालिका-५ धुलाबारी स्थायी वतन भएका २४ वर्षीय सोबित आचार्य, धादिङ निलकण्ठ नगरपालिका-१० घर भएका २१ वर्षीय शंकर ढाउन्याँ र काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने धादिङ गजुरी घर भएका २७ वर्षीय सुमन बस्नेत पनि पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-१७ बाफलको वडा एरियामा बन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सामग्री सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउमध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, हरि वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको तथा शंकर ढाउन्याँ र सुमन वस्नेतलाई प्राचीन स्मारक ऐन बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया