के ओली–प्रचण्ड दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन तयार भएका हुन् ?

काठमाडौं । प्रश्न र ‘काउन्टर’ प्रश्नको शृंखला जारी रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष तहबाटै दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउने कुरा बाहिर आएको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफू दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन तयार रहेको केहि समयअघि देखिनै बताउँदै आएका थिए । कार्यकारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यसबारे मुख खोलेका थिएनन् ।

तर, आइतबारको स्थायी कमिटि बैठकमा प्रचण्डले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफूलाई कुनै समस्या नभएको बताए । योसँगै नेकपा वृतमा नयाँ बहसको सुरुवात भएको कतिपयले तर्क गरेका छन् ।

चर्चा विवादको गरौं, अहिले नेकपाभित्रको विवाद कुनै सैद्धान्तिक विवाद नभएर शीर्ष नेताहरुबीच मन र भावना नमिल्दाको परिणाम हो । यसअघि पूर्व एमालेले अपनाएको जवज र पूर्व माओवादीले अपनाएको जनताको जनवादका विषयमा विवाद भएको होइन । विवाद नेता–नेताबीचको द्वन्द्वको परिणाम पनि हो र, पार्टीभित्रको विवाद तल्लो तहको कार्यकर्ताबीच भएको होइन, यो शीर्ष तहमा मात्रै भएको हो ।

गत २८ कात्तिकमा बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष दाहालले एकल रूपमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावपछि दुई अध्यक्षविच शक्ति संघर्ष झनै चुलिएको थियो । दुई अध्यक्षविचको कलहको ‘आगो’लाई निभाउनेको सट्टा उल्टो अरु शीर्ष नेताहरुले ‘घिउ’ थप्ने काम गरे ।

पार्टीको सचिवालयमा दाहालको १९ पृष्ठ लामो प्रस्तावको जवाफमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दोब्बर अर्थात् ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेपछि नेकपामा ओली र दाहालले नेतृत्व गरेका दुई समूहबीच लिखित रूपमै आरोप र प्रत्यारोपको शृंखला शुरु भएको थियो । आइतबारको स्थायी कमिटी बैठकपछि दाहालको ‘आरोप–पत्र’ र त्यसमै आधारित ओलीको ‘प्रत्यारोप–पत्र’ले अब औपचारिक रूपमै नेकपाको स्थायी कमिटीमा प्रवेश पाएका छन् । अहिले अध्ययनका लागि वितरीत यिनै प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरूले बैठकमा धारणा राख्नेछन् ।

प्रधानमन्त्री ओलीले १३ मंसीरको सचिवालय बैठकमा दाहालको प्रस्तावलाई ‘खारेज गरेको’ घोषणा गरेका थिए । त्यसयता उनले दाहालको प्रस्तावमाथि पार्टीका कुनै कमिटीमा छलफल हुन नसक्ने बताउँदै आएका छन् । ओलीको यस्तो अडानकै बीच आइतबारको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई दुवै प्रस्ताव वितरण गरिएपछि अब यी दुवै प्रस्ताव नेकपामा छलफल र बहसका अजेण्डा बनेका छन् ।

सुखद संकेत, उसो त प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आफू तयार रहेको दावी गरेका थिए । ‘युवाको निम्ति म पद त्याग्न तयार छु, अरु नेताबाट पनि त्यस्तै अपेक्षा छ,’ उनले भनेका थिए ।

पार्टीभित्रको किचलोकै सन्दर्भमा अर्का अध्यक्ष प्रचण्डको ‘प्रतिवेदन’ को प्रतिउत्तर दिने क्रममा प्रम ओलीले सरकार र पार्टीको बारम्बार नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिन र नयाँ पुस्तालाई हस्तान्तरणका लागि तयार रहन चुनौती पनि दिएका थिए । प्रम ओलीको यो चुनौतीपूर्ण आग्रह हालको समस्याग्रस्त पार्टीलाई साँच्चिकै सञ्जीवनी दिनका लागि होे वा फगत हुँकारका लागि ? आगामी घटनाक्रमहरूले नै बताउलान् । तर, यो प्रसङ्गले नयाँ पुस्तालाई नेतृत्वमा आउन भने मार्गप्रशस्त गरिदिएको छ ।

ओलीले पुस्ता हस्तान्तरणको कुरा पटक–पटक गर्दै गर्दा कार्यकारी अध्यक्ष प्रचण्डले पनि आफू पनि अध्यक्ष पद त्याग्न तयार रहेको जिकिर गरेका छन् । ‘पार्टीभित्र त्याग र नेतृत्व हस्तान्तरणको कुरा आएको छ । मलाई पनि यसमा कुनै मोह छैन । म अध्यक्ष त्याग्न तयार छु । दोस्रो पुस्तालाई नेतृत्व दिन तयार छु,’ प्रचण्डले भनेका छन् । अध्यक्षद्वयको यो अभिव्यक्तिले अब पार्टीलाई सकारात्मक दिशातर्फ लैजाने कतिपयले तर्क गरेका छन् ।

को आउलान् !
नयाँ पुस्ताका लागि प्रधानमन्त्रीको नजर स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङमाथि रहेको स्रोत बताउँछ । तर, खुमलटार भने प्रधानमन्त्रीले ती सबै कुरा सार्वजनिक खपतको लागि बोल्नुभएकोमा ढुक्क छ । खुमलटार स्रोत भन्छ–‘यसअघि प्रधानमन्त्रीले सचिवालयको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएकै थियो । अहिले गौतम कुन हालतमा हुनुहुन्छ सबैले देखेकै छन् ।’

नेकपाका स्थायी कमिटी सदस्य वेदुराम भुसाल भने अध्यक्षद्वयको भनाई स्वीकार्न तयार छैनन् । नेकपामा चलिरहेको पुस्ता हस्तान्तरणको बहस बजारी खपतको लागि मात्र आएको उनको तर्क छ । ‘छोड्ने हो भने त, ल मैले राजीनामा दिएर छाडें, अब मेरो पुस्ताका मान्छेलाई होइन, अर्को पुस्तालाई दिऔं भन्न सक्नुहुन्छ ? ल कमिटीले निर्णय गरोस् भन्न सक्नुहुन्छ ? तर त्यसो भएको छैन ।’ उनले भने ।

यही पुस्ता नै पदीय भागबन्डाकालागि बहुमत र अल्पमतको खिचातानीमै व्यस्त रहेका बेला पुस्ता हस्तान्तरण कुरा त्यहि सजिलो छैन । त्यसो त नेपालका कम्युनिस्ट पार्टी र यसको नेतृत्व पुस्तान्तरणको अहिलेसम्मको इतिहास हेर्दा एकाध पार्टीलाई छोडेर आम कम्युनिस्ट पार्टीमा एउटै नेतृत्व दशकौंदेखि कायम रहेको पाइन्छ ।

प्रतिक्रिया