झापाकी रेनुका, जो सिन्दूर-पोते लगाएरै पतिको काजकिरिया गर्दैछिन्

झापा । झापाको विर्तामोड नगरपालिका- ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन् ।

उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो। बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन् । हाल निजी निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

“यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो,” पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनले भनिन्, “उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।” रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिए।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताए । -रासस

प्रतिक्रिया