‘विद्यार्थीको शैक्षिकसत्र खेर जान्न’

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले कोरोना भाईरस (कोभिड–१९) का कारण शैक्षिक क्षेत्रमा परेको असर र चुनौती सामना गर्न विश्वका सम्पूर्ण देशको साझा प्रयास आवश्यक हुने बताएका छन् । उनले कोभिड–१९ महामारीबाट विश्वका सबै देशको शैक्षिक क्षेत्रमा परेको समस्या समान भएका ले यसको चुनौती सामना गर्न साझा प्रयास जरुरी रहेको बताए ।

नेपाल खुला विश्वविद्यालय र अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गरेको चार दिने ‘२०२० स्टार कन्फरेन्स’ अन्तर्राष्ट्रिय सम्मेलनको आईतबार भएको भर्चुअल उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिने गरी नेपालले गरेको प्रबन्धका बारेमा पनि बताएका थिए ।

अनलाइन भर्चुअल माध्यमबाट गरिने शिक्षण र कोभिड–१९ पछिको शिक्षण रणनीतिका बारेमा छलफल गर्न आयोजित उक्त सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले महामारीका कारण आईपरेको संकटमा सरकारले सूचना प्रविधिमा आधारित रहेर वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको तथा संक्रमणको जोखिम नभएका ठाउँमा प्रत्यक्ष पढाइ शुरु गरेको पनि बताए ।

चुनौती हुँदा हुँदै पनि कोभिडले शैक्षिक कृयाकलाप परिवर्तन गर्नका लागि अवसर समेत ल्याएको चर्चा गर्दै उनले प्रविधिको नयाँ प्रयोगलाई आत्मसात गर्दै अनुसन्धनात्मक तथा नवप्रवर्तनात्मक बनाउने तर्फ सरकार केन्द्रित रहेको दावी पनि गरेका छन् ।

उक्त सम्मेलनमा नेपाल सहित अमेरिका, न्यूजिल्याण्ड, भारत लगायतका देशका शिक्षाकर्मीहरुको सहभागिता रहेको छ । सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड–१९ पछिको चुनौती लगायतका विषयमा छलफल गरिनेछ ।

सम्मेलनको विशेष अतिथिका रुपमा म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी (एम.आइ.टी), लण्डन र एरिजोना विश्वविद्यालय, अमेरिकाका प्राध्यापक विश्व प्रख्यात दार्शनिक, तथा समालोचक अब्राहम नोम चोम्स्कीको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा ८१ वटा समानान्तर प्रस्तुति, ७ वटा प्यानल डिस्कसन र ३ वटा किनोट प्रस्तुतिहरु गरिने छन् ।

प्रतिक्रिया