हुलाकी राजमार्ग निर्माणबारे मन्त्री घिमिरेको चासो, ४८ प्रतिशत काम सम्पन्न

विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका छन् । करिब ४८ प्रतिशत काम सम्पन्न भएको र चालु आर्थिक वर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराएका छन् । उनले मन्त्री घिमिरेलाई झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भइसकेको बताएका छन् ।

रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पुर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाइ छ । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले जानकारी दिए ।

सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ बर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । हुलाकी सडकको चर्चा धेरैभएपनि काम नदेखिएको र विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने मन्त्री घिमिरेले बताए ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग माेरङ, सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । ज्ञवालीले चालु आर्थिक बर्ष भित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उनको भनाइ छ । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराएका थिए ।

प्रतिक्रिया