‘देशमा ज्ञानेन्द्रको नेतृत्व हुनुपर्छ’ भन्दै राजधानीमा बृहत् प्रदर्शनकाे तयारी

काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नागरिक समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्तर्गत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए ।

उनले देशमा विगत ११ वर्षदेखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’

संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए । उनले भने, ‘यो लडाईं विदेशी दलार र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।

चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध समेत गरे । ‘यो देशमा कोहि पनि शामन्ती छैन । राजतन्त्रले नेपाली जनतालाई शामन्ती गरेको छैन, राजा कुनै शामन्ती होइन । राष्ट्रको लागि राजा ल्याउन खोजिएको हो,’ उनले भने । उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले विदेशीको इसारामा नेताहरु चलिरहेकाे समेत आरोप लगाए ।

कार्यक्रममा बोल्दै समाजकी सहसंयोजक लक्ष्मी मल्लले दुई तिहाईको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन २६ गतेको कार्यक्रम गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीहरुले २६ गतेको कार्यक्रम केपी ओलीलाई च्यालेन्ज गर्न राखेका हौँ ।’ मल्लले राजा र राजतन्त्र सबैको साझा हो भन्दै राजतन्त्र पुःन बहाली गर्नुपर्ने जिकिर गरिन् । उनले भनिन्,‘अब देशमा ज्ञानेन्द्र शाहको नेतृत्व हुनुपर्छ ।’

प्रचण्डले १७ हजारको ज्यान मारेको जिम्मा लिन्छु भन्दाभन्दै प्रचण्डलाई मानवताविरुद्धको गम्भीर अपराधबाट जोगाइएको आरोप समेत उनले लगाइन् । उनले नेताहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त पैसालाई राष्ट्रियकरण गरि रोजगारी सिर्जना गर्नमा लगाउने बताइन् ।

प्रतिक्रिया