धरानबाट खैरो हेरोइन कारोबारी पक्राउ

धरान । प्रहरीले धरानबाट खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भएका सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेका छन् । उनलाई हिजो शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धनकुटे मार्ग पक्की सडकखण्डमा बुद्ध चोकबाट भोटेपुलतर्फ जाँदै गरेकाे स्कार्पियाे रोकेर चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोल) को पछाडितर्फ भित्री भागमा प्लाष्टिकको प्याकेटमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन बरामद भएकाे थियाे । उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

त्यस्तै प्रहरीले धरान–१० र ११ का दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–१० बस्ने वर्ष ३८ को पूर्णबहादुर लिम्बू र धरान–११ बस्ने वर्ष ५० को साकुरा लिम्बूलाई पक्राउ गरेको हो ।

लागूऔषध ओसारपसार गरेर ल्याई सञ्चय गरेर राखी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएकाे डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । धरान–१० धर्मपथ लाइन बस्ने पूर्णबहादुरको घरकोठा खानतलासी गर्दा निज सुत्ने बस्ने गरेको कोठाभित्र लुकाइछिपाई राखेको अवस्थामा डाइलक्स डिसी ३६ बोतल, स्पास्मो प्रोक्जिभन आर प्लस ७२ क्याप्सुल, नाइट्रोसन ट्याब्लेट ६ चक्की, फलामको तरबार थान १, खुकुरी थान १, छुरा थान १, दाउ थान १, प्लाष्टिकको पेस्तोल जस्तो देखिने नक्कली खेलौना पेस्तो थान १, बन्दुक थान १ बरामद गरी पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरुको साथबाट नगद २९ हजार ५ सय र मोबाइल थान २ समेतका सामानहरु फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतबाट आजै म्याद थप गरी लागूऔषध मुद्दाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया