कोरोना कहर : नेपालमा ३३ प्रतिशत दुध उत्पादन घट्यो

  • ध्रुवराज खनाल

चितवन । कोरोना भाइरस संक्रमणका कारण नेपालको पशुपालन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाकै कारण राष्ट्रिय उत्पादनमा ३३ प्रतिशत कमि आएको छ । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अनुसार राष्ट्रिय रुपमा ३३ प्रतिशत दुध उत्पादन घटेको हो ।

कोरोनाका कारण पटक पटक दुध फाल्नु पर्ने अवस्था, अनुत्पादक बस्तु, बजार अस्तब्यस्तताका कारण नियमित दुध बिक्रि वितरण गर्न नसक्नु, पशु आहार नियमित उपलब्ध नहुनु, बिक्री गरिएको दुधको पनि ४ महिना सम्म भुक्तानी नपाउँदा कृषकहरु मर्माहित भएका छन् । यी नै कारणले दुध उत्पादन घटेको संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटाले जानकारी दिए ।

कोरोना संक्रमण अघि मुलुकमा दैनिक १९ लाख लिटर भन्दा बढी दुध उत्पादन हुँदै आएको थियो । दुध उत्पादनमा आत्मनिर्भर बनेको चितवन जिल्लामा पनि कोरोनाका कारण दुध उत्पादन निकै घटेको छ । जिल्लामा ३० प्रतिशत दुध उत्पादन घटेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणी न्यौपानेले बताए । गत वर्षको चैत महिनाअघिसम्म चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुँदै आएको थियो । कोरोना महामारी सुरू भएपछि चैतयता दूध उत्पादन घटेर दैनिक २ लाख ८५ हजार लिटर उत्पादन हुँदै आएको छ ।

‘कोरोनाका कारण २५ देखि ३० प्रतिशत दूध उत्पादन घटेको छ । समयमै पशु आहारको अनुपलब्धतासँगै अन्य कारणहरु पनि छन्’, संघका अध्यक्ष रत्नमणि न्यौपानेले भने । पशुमा लाग्ने छालाको रोग लम्की स्क्रिन, दूधको बजार अभावका कारण दूध उत्पादन घटेको उनको भनाइ छ ।

किसानले गोठमा उत्पादन गरेको दूध सहकारी संस्थामार्फत डेरी उद्योगहरुले खरिद गर्ने गरेका छन् । दूधको खपत कम भएका कारण डेरी उद्योगहरुले पनि दूध खरिद गर्न हिचकिचाइरहेका छन् । राष्ट्रिय रुपमा मिल्क होलिडे सुरू भइसकेको छ । त्यसको असर चितवनमा पर्न थालेको छ । दूध उत्पादन घट्दै जानु, ढुक्क भएर दूध बिक्री गर्न नपाउनु र चार महिना बितिसक्दा पनि भुक्तानी नपाउने समस्यामा किसानहरु परेका छन् । कुल उत्पादनमध्ये ४० प्रतिशत दूध जिल्लामै खपत हुने गरेको छ । ६० प्रतिशत दूध बाहिरी जिल्लामा जाने गरेको तथ्याङ्क संघसँग छ । जिल्लामा व्यावसायिक रुपमा पशुपालन गर्ने गोठहरुको संख्या १०० वटा रहेको छ ।

चितवनमा १० भन्दा बढी ७० वटासम्म गाई पाल्ने व्यावसायिक किसानहरु रहेका छन् । परम्परागत रुपमा पशुपालन गर्ने किसानहरुको संख्या भने नगन्य रुपमा रहेको छ । जिल्लामा उत्पादन हुने कुल दूधमध्ये ६० प्रतिशत पूर्वी चितवनमा र ४० प्रतिशत पश्चिम चितवनमा उत्पादन हुने गरेको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कोरोनाका कारण मारमा परेका पशुपालन किसानहरुले यो पेसालाई जोगाइराख्न सरकारको साथ खोजेका छन् । जस्तोसुकै जटिल परिस्थिति आउँदा पनि पशु आहारको अभाव हुन नदिन स्थानीय तहमा कच्चा पदार्थ प्रयोग गरी दाना उत्पादन सुरू गर्नुपर्ने किसानहरुले माग गरेका छन् ।

सरकारी वा निजी बाँझो जमिनमा किसानले घाँसखेती गर्ने नीति ल्याउनुपर्ने, कच्चा दूधको बजार सरकारले सुनिश्चित गर्नुपर्ने, नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने र विदेशबाट आउने दूधलाई निरूत्साहित गर्न सके पशुपालक किसानले खेप्दै आएको बजार अभावको समस्या निराकरण हुने संघका सचीव किशोर बगालेले बताए । पशु आहारको अभाव, मिल्क होलिडे र बजारको समस्याका कारण जिल्लाका व्यावसायिक किसानहरु पलायन हुने अवस्था आएको संघका सचिव बगालेले बताए ।

प्रतिक्रिया