विराटनगरकाे सहिद रंगशालामा फ्लड लाइट जडान

विराटनगर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य विहिबार देखि शुरु भएको हो ।

सहिद रंगशालालाई अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने,‘ विराटनगरलाई खेलकुदमय बनाउनका लागि फ्लड लाइट जडानको काम सुरु गरिएको हो । ’

कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिती हेरेर चाँडै खेलकुद गतिविधि सुरु गर्न सकिने गरी संरचना निर्माणमा जोड दिदैं रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने मन्त्री घिमिरेको भनाई छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतीमा विशेष ध्यान दिइने बताए । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भएपनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उनको भनाई छ ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाईएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक आएका छन् ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयामा सम्झौता गरेको थियो ।

फ्लड लाइट जडान भएपछि रातकाे समयमा पनि विराटनगरमा खेलकुदका गतिविधीहरू हुने छन् । खासगरी, सहिद रंगशालामा फुटवल, क्रिकेट जस्ता ठूला प्रतियाेगिताहरू रातकाे समय गर्न सहजता हुनेछ ।

तस्विरः सुजता निंलेकू, विराटनगर ।

प्रतिक्रिया