कोरोना खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्‍नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका हुन् ।

खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा उनको जोड् छ । ‘खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने- ‘सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन-रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको र महामारीको त्रासदी अकथनीय रहेको बताए । कोरोना महामारीबाट कोही पनि सु्रक्षति नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने- ‘हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं ।’

कोरोनाविरुद्धको तयारीमा नेपाल पनि अरु देशको जस्तै अवस्थामा रहेकाले उस्तै क्षति व्यहोर्नु परेको उनले बताए । अहिले नेपालले ठूलो संख्यामा अस्पतालहरुलाई कोरोना फोकस अस्पतालका रुपमा विकास गरिरहेको, सातै प्रदेशमा सरुवा रोगसम्बन्धी अस्पताल निर्माण सुरु गरेको र हरेक स्थानीय तहमा आधारभूत अस्पतालमा निर्माणको काम सुरु गरेको प्रधानमन्त्रीले जानकारी दिए । नेपालले विश्व स्वास्थ्य संगठनले तय गरेको गाइडलाइनअनुसार कोरोनाविरुद्ध जनचेतना फैलाउने काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया