पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु

विराटनगर । धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरिएको छ । अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए ।

मन्त्री घिमिरेले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताए । क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिरहेको मन्त्री घिमिरेको भनाइ छ ।

जिल्ला स्तरबाट सेवा सुरु भएको जानकारी स्थानीय स्तरसम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई समेत उनले आग्रह गरेका छन् । मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ क्यान्सरको बहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेकोमा जोड दिएका छन् ।

पालिका स्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उनको भनाई छ । उनले भने,‘धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालकारुपमा रूपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाइएको छ । यसमा प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रक्रियामा लागेको छ ।’ चालु आर्थिक वर्ष भित्रमा धनकुटा जिल्ला अस्पताललाई १ सय बेडमा स्तरोन्नति गरिने मन्त्री घिमिरेको भनाई छ ।

पाठेघरको मुखको निःशुल्क परीक्षण सुरु गरेकै दिन आज ७ जनाको नमुना सङ्कलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । उनका अनुसार नमुना सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने छ । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताए । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया