नोबेलले २ अर्ब ४० करोड लगानीमा क्यान्सर अस्पताल बनाउँने

बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ । २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो ।

बिराटनगरको कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ । अब एक बर्ष भित्रमा सुबिधासम्पन्न क्यान्सर अस्पताल सञ्चालन गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

‘सार्क राष्ट्रहरुमै हालसम्म नभएका अत्याधुनिक उपकरण राखेर क्यान्सर हस्पिटल चलाउँने तयारी गरेका छौं ।’ डा.शर्माले भने–‘अब क्यान्सर रोगीले दिल्ली लगायत क्षेत्रमा पुग्नुपर्ने बाध्यता हट्छ । नोबेलमै क्यान्सरको राम्रो उपचार गर्ने वातावरण मिलाउँछौ ।’

नोबेलले १ अर्ब २० करोड भन्दा बढी रकम अत्याधुनिक उपकरण खरिदमै खर्चने भएको छ । अमेरिकन कम्पनी भेरियन मेडिकल सिस्टम्सको एज वीथ हाइपरआर्क इन्टीग्रेटेड २४ च्यानल ब्राकीथेरापी सिस्टम र हेलकोन ई वीथ केभी लगायत अत्याधुनिक मेसिन किन्न सम्झौता भईसकेको अस्पतालले जनाएको छ ।

सुरुवाती चरणमा क्यान्सरका बिरामीका लागि अत्याधुनिक मेसिनद्वारा थेरापी सुरु गरेर एक सय बेडको क्यान्सर अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो । नोबेलले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै उपचार सेवामा स्तरीयता बढाउँने क्रमलाई तीब्रता दिईरहेको छ ।

प्रतिक्रिया