राजस्व छल्ने ५ फर्मविरुद्ध ४१ करोडको मुद्दा दायर

काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिबृद्धकर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा ५ कम्पनीका सञ्चालक, प्रोप्राईटर विरुद्ध मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले ४१ करोड रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी गरी एकैदिन पाँच वटा कम्पनी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागले बुधबार झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राईटर कमल बहादुर राउत समेत २ जनाबाट ४ करोड १६ लाख ४६ हजार १६२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको जनाएको छ ।

विभागले दोलखा जिल्ला तामाकोशी गाउँपालिका स्थित पि.आर. के. ट्रेड ईन्टरनेशनलका प्रोप्राईटर लहुमन माझीबाट पाँच करोड ५६ लाख ८ हजार ७३८ विगो असुल गरी जरिवाना र कैद माग दावी मुद्दा दर्ता गराएको छ । यस्तै बारा जिल्ला परवानीपुर स्थित मिनजा इन्टरनेशनल प्रा.लि. का सञ्चालक रामवावु साहानीबाट २ करोड १९ लाख १२ हजार ३९ विगो असुल गरी जरिवाना र कैद मागदावी सहित मुद्दा दर्ता गरिएको छ ।

यता पर्सा वेलवा गा.बि.स. ३ स्थित क्रेटा इन्टरप्राइजेजका प्रोप्राईटर नबिकरिम अन्सारी समेत ३ जनाबाट ८ करोड २४ लाख ६० हजार ७६५ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गराएको विभागले जानकारी गराएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने धनुषा, रघुनाथपुर स्थित करदाता रमण कन्स्ट्रक्सन प्रा.लि. लाई २० करोड ८७ लाख ६४ हजार ६२९ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया