‘भोलि नेकपा स्थायी कमिटीको बैठक बस्दैन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको दरारपन झनै बढ्दै गइरहेको छ । केन्द्रीय सचिवालयमै स्पष्ट दुई कित्तामा उभिएका सदस्यहरुबीचको तिक्तताका कारण नेकपा विवाद झनै पेचिलो बनेको हो । परिणामतः अहिलेसम्म बसेको कुनै पनि सचिवालय बैठकमा कुनै खालको सहमति जुट्न सकेको छैन । खासगरी दुई अध्यक्षबीच नै आरोप प्रत्यारोपको शृङ्खला बढेपछि थप जटिल बनेको नेकपा विवाद अहिले ‘मर किन मार’को स्थितिमा पुगेको छ ।

यसअघि मंगलबार (हिजो) बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको शुरुमै ‘आजको बैठक स्थगित गरौँ’ भनी प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमाथि असहमति जनाउँदै बहुमत सदस्यहरुले बैठक शुरु हुनुपर्ने बताएका थिए । त्यसपछि ‘अनि आजको एजेण्डा चाहिँ के हो ?’भनेर प्रश्न गरेका ओलीलाई अर्का अध्यक्ष (कार्यकारी) पुष्पकलम दाहाल ‘प्रचण्ड’ले दुवै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने बताएका थिए । त्यसपछि बहुमतको इच्छामाथि ‘अनिच्छा’ देखाएका ओलीले चार मौखिक प्रस्ताव पेश गरेका थिए ।

अध्यक्ष दाहालको प्रस्तावमाथि छलफल नै नहुने, दाहालले माफी माग्नुपर्ने, बहुमत तथा अल्पमतको कुरा नहुने र भोलि (आजः बुधबार दिउँसो १ बजेको)को बैठकमा उपस्थित नहुनेलगायतका ४ वटा प्रस्ताव राखेका ओलीले तत्पश्चात् आजको बैठकप्रति पनि अनिच्छा देखाएका थिए । परिणामतः ओली आजको बैठकमा उपस्थित भएनन् । त्यसपछि आउँदो २० गतेसम्मको लागि बैठक स्थगित भएको छ । बहुमत र कार्यकारी अध्यक्षको हैसियतको रुपमा अध्यक्ष दाहालले बुधबार १ बजेको लागि सचिवालय बैठक आह्वान गरेका थिए ।

आजको सचिवालय र भोलिको स्थायी कमिटी बैठक
केन्द्रीय सचिवालयमाथि आजै एक खालको निष्कर्षमा पुग्नुपर्ने दबाब थियो । तर, आजको बैठक स्थगित भएको छ । ओलीको अनुपस्थितिका कारण बैठक आउँदो २० गतेसम्मको लागि स्थगित भएपछि पार्टीले भोलि बोलाएको स्थायी कमिटीको बैठक पनि प्रभावित बनेको छ ।

अब यसपछि भोलि स्थायी कमिटी बैठक बस्छ कि बस्दैन ? भन्ने चासो सबैतिर छ । तर, यदि भोलि स्थायी कमिटीको बैठक बसेको खण्डमा नेतृत्वविरुद्ध केही निर्मम निर्णय गरिने बुझिएको छ । खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल यो लाइनमा छ । पार्टी गठबन्धनको शुरुदेखि नै ‘एक व्यक्ति एक पद’को पक्षमा उभिएको नेपाल पक्षले पछिल्लो पटक यो विषयलाई प्राथमिकताका साथ उठाइरहेको छ ।

केही दिनपहिले झापाको बिर्तामोड पुगेका नेपाल पक्षका प्रभावशाली नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपा सचिवालय बैठक कुनै निष्कर्षमा नपुगेको खण्डमा १८ गते बस्ने स्थायी कमिटी बैठकले नेतृत्वविरुद्ध निर्मम निर्णय लिनसक्ने बताएका कुरालाई यसको सार बुझ्न सकिन्छ ।

भोलि नेकपा स्थायी कमिटीको बैठक बस्दैन
तर, यता नेकपा संसदीय दलका उपनेता तथा ओलीका विश्वासपात्र सुवासचन्द नेम्वाङ्गले भने भोलि स्थायी कमिटी बैठक नबस्ने बताउँछन् ।

मकालु खबरसँग संक्षिप्त कुराकानी गर्दै नेता नेम्वाङ्गले भनेका छन्, ‘कसले भन्यो भोलि स्थायी कमिटीको बैठक बस्ने भनेर ? मलाई नै थाहा छैन । भोलि बस्दैन ।’ यस्तै उनले पार्टीले निर्णय नगरिसकेको पनि बताए । ‘गत ३ गते बसेको सचिवालय बैठकले निर्णय गरिसकेको होइन र ?’ भन्ने प्रश्नको जवाफमा नेता नेम्वाङ्गले भनेका छन्, ‘मोटामोटी सर–सल्लाह भएको थियो । तर, बैठक १८ गते नै राख्नेबारे निर्णय नै भएको छैन । कि छ कि, मलाई जानकारी छैन ।’

उसो भए के भोलि स्थायी कमिटीको बैठक बस्दैन ?
ओली पक्षीय नेताहरुले यसअघिनै पार्टीका सबै कमिटीहरुको बैठक स्थगित गर्नुपर्ने बताइसकेका छन् । अहिलेसम्मको राजनीतिक वृत्तमा देखिएको सन्दर्भलाई नियाल्ने हो भने, भोलि नै स्थायी कमिटी बैठक डाक्ने सम्भावना कम छ ।

प्रधानमन्त्री ओलीले पनि पार्टी कमिटीका सबै बैठकहरु स्थगित हुनुपर्ने बताउँदै आएका छन् । त्यसो त भोलिको बैठकबारे आधिकारिक रुपमा स्थायी कमिटी सदस्यहरुलाई जानकारी पनि दिइएको छैन ।

नेकपा नेतृ रामकुमारी झाँक्रीले मकालु खबरसँगको कुराकानीका क्रममा बताएअनुसार भोलिको बैठकबारे आधिकारिक जानकारी गराइएको छैन । ‘जानकारी दिइएको छैन । भोलि बैठक बस्दैन’, नेतृ झाँक्रीले भनेकी छन् ।

यसअघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ३ गतेको सचिवालय बैठकपछि स्थायी कमिटी बैठक १८ मंसिरमा बस्ने बताएका थिए ।

प्रतिक्रिया