सुन्दरहरैंचा स्थित वीपी प्रतिष्ठानको जग्गामा चारकिल्ला, ५० वेडको सरुवा रोग अस्पताल बनाइने

धरान । भ्रष्टाचार र अनुशासनहिनताबाट गुज्रिइरहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ट्रयाकमा ल्याउने काम भइरहे पनि आशातीत सफलता पाउन नसकिए पनि केही सकारात्मक काम पनि भइरहेका छन् ।

प्रतिष्ठानका केही पदाधिकारी र तिनका सल्लाहकारहरु ‘कमाउ धन्धा’मा लागेपछि कोभिड–१९ अस्पतालमा समेत भ्रष्टाचार भएको भन्दै चर्को आलोचना भयो । चलखेलकै कारण गत आर्थिक वर्षमै स्वास्थ्य मन्त्रालयले सिटि स्क्यान खरिद गर्न भनेपनि प्रतिष्ठानले कार्य अगाडी बढाउन सकेको छैन ।

तस्वीरहरूः महेश्वर राई

तर, विवाद र भ्रष्टाचारका वावजुद पनि प्रतिष्ठानलाई संकटमुक्त पार्ने प्रयास चैं अगाडी बढेको छ । प्रतिष्ठानको स्वास्थ्य सेवा व्यवस्थित गर्ने कार्यसँगै प्रतिष्ठानको नाममा भएका भौतिक पूर्वाधार र जग्गाजमिनलाई पनि व्यवस्थित गर्ने कार्य अगाडी बढेको हो ।

सोहि क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा प्रतिष्ठानको नाममा रहेको करिब १४ बिघा जग्गालाई सदुपयोग गर्ने गृहकार्य अगाडी बढेको छ ।

नेपाल सरकारको स्वास्थ्य नीति अन्तरगत प्रतिष्ठानको गएको सिनेटले सुन्दरहरैचा स्थित जग्गामा ५० वेडको सरुवा रोग अस्पताल बनाउने निर्णय भए बमोजिम गृहकार्य अगाडी बढेको छ । हिजो मंगलबार प्रतिष्ठानका पदाधिकारी एवं कर्मचारीहरु सुन्दर हरैचास्थित उक्त जग्गाको स्थलगत अवलोकन समेत गर्दै त्यसलाई कसरी सदुपयोग गर्ने छलफल अगाडी बढाइएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसहित कर्मचारीहरुको टोलीले उक्त जग्गाको स्थलगत अवलोकन गर्दै जग्गाको संधियार भेटेर चारकिल्ला समेत छुट्याएका छन् । ‘शिक्षाध्यक्ष, रजिष्ट्रार सहित प्रतिष्ठानका विभागीय कर्मचारीहरुको टोलीले स्थलगत अवलोकन गर्दै आफ्नो जग्गामा चारकिल्ला समेत ठोकेको छ ।’ अवलोकनमा गएका एक कर्मचारीले भने ।

वीपी प्रतिष्ठानकाे माेरङ, सुन्दरहरैंचाकाे जग्गा अवलाेकन गर्दै प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूः

रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार प्रतिष्ठानको सम्पत्तिको अवस्था के कस्तो छ भनेर स्थलगतरुपमा अवलोकन गर्दै चारकिल्ला समेत छुट्याइएको छ । यस अघिका कुनैपनि पदाधिकारीको आँखामा पर्न नसकेको उक्त जग्गा बर्तमान पदाधिकारीले उपयोगमा ल्याउने तयारी गरेका छन् ।

सुन्दरहरैचामा प्रतिष्ठानको नाममा ९ बिघा जग्गा रहेको छ । त्यहाँ सुवर्ण फर्मास्युटिकल्सको नाममा ५ बिघा जग्गा रहेको र उक्त फर्मास्युटिकल्समा प्रतिष्ठानको ५० प्रतिशत सेयर समेत रहेको छ । फर्मास्यिुटिकल्स सञ्चालनमा नहुँदा प्रतिष्ठानको आम्दानीमा पनि असर परेको छ ।

नेपाल सरकारले निकट भविष्यमा सातै प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाउने निर्णय अनुसार प्रदेश १ मा बनाउने भनिएको अस्पताल प्रतिष्ठानको जग्गामा निर्माण गरिनेछ । ५० बेडको सरुवा रोग अस्पताल बनाउन प्रदेश सरकार, केन्द्र सरकार र प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएपछि मात्र शुरुवात हुने प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले बताए ।

‘सातै प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाउने सरकारको नीतिगत निर्णय अनुसार प्रदेश १ मा सुन्दर हरैंचामा उक्त अस्पताल बनाउने वीपीको सिनेटले निर्णय गरेको छ । सरकारको प्रस्ताव आएपछि थप निर्णय गर्दै प्रदेश, केन्द्र सरकारसँग त्रिपक्षीय सम्झौता गरेर अगाडी बढ्छौं ।’ रजिष्ट्रार रेग्मीले भने ।

प्रतिष्ठानकाे लागि स्थायी आम्दानीकाे स्राेत पहिल्याउनका लागि पनि भएका संरचनाहरू र पूर्वाधार प्रयाेग गर्ने रणनीति अपनाइएकाे छ । नेपाल सरकारले पनि प्रतिष्ठानहरू अब स्वायत्त हुनुपर्छ भनिरहेकाे र वर्षेनी प्रतिष्ठानहरूलाइ उपलब्ध गराउँदै आएकाे बजेट समेत घटाउँदै गएकाे अवस्थामा प्रतिष्ठान सञ्चालनका लागि पनि भएका संरचनाहरू खाेजविन गरिएकाे हाे ।

प्रतिक्रिया