यदि आजको सचिवालय बैठकमा प्रधानमन्त्रीको सहभागिता नभए के के हुनसक्छ ?

काठमाडौं । मंगलबारको नेकपा केन्द्रीय सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा आली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चर्काचर्की नै पर्यो । बैठक रोक्न प्रयासमा देखिएका प्रधानमन्त्रीसमेत रहेका ओली अन्ततः असमर्थ भएसँगै बैठक शुरु भयो । बैठकमा दुवै प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताएका कार्यकारी अध्यक्ष दाहालले ‘आजको एजेण्डा चाहिँ के हो ?’ भनी ओलीले सोधेका प्रश्नमा धेरै विषयमा छलफल तथा कुराकानी गर्नुपर्ने भएको बताएका थिए ।

त्यसपछि पनि बैठक रोक्न चाहेका ओलीले चार प्रस्ताव राखेका थिए । पहिलो, अध्यक्ष दाहालको प्रस्तावमाथि छलफल नहुने । दोस्रो, दाहालले माफी माग्नुपर्ने । तेस्रो, बहुमत र अल्पमतको कुरा नहुने र चौंथो, बुधबार डाकिएको बैठकमा आफू उपस्थित नहुने भनी ओलीले चार प्रस्ताव राखेका थिए । सोहीअनुसार आज बोलाइएको बैठकमा ओली उपस्थित नहुने बुझिएको अहिलेसम्मको जानकारीअनुसार । यदि ओली साँच्चै नै आजको सचिवालय बैठकमा उपस्थित नभए के हुन्छ ? अहिले आम-चासोको विषय बनेको छ । तर, ओलीनिकट सचिवालय सदस्य तथा महासचिव विष्णु पौडेलले भने ओली उपस्थित हुने बताएका छन् । तर, यदि ओली बैठकमा उपस्थित नै भएनन् भने के होला ?

सबैभन्दा पहिले ओलीलाई असन्तुष्ट पक्षले मौका दिने प्रवल सम्भावना छ । आजको बैठकमा ओली उपस्थित नै नभए पनि एक मौका दिनेमा पक्षमा असन्तुष्ट पक्ष रहनेछ । ओली उपस्थित नभएको र बहुमतले निर्णय गर्दै अगाडि बढेको खण्डमा पार्टी विभाजनतिर उन्मुख हुन्छ । त्यसो त दाहालमाथि पार्टी विभाजन हुन नहुने भन्ने दोस्रो तहका नेताहरुको दबाब छ । त्यसैले आजको बैठकमा ओली उपस्थित नभएको खण्डमा अध्यक्ष दाहालसहितको असन्तुष्ट पक्षले एक अन्तिम मौका दिने प्रवल सम्भावना छ ।

नेकपाले भोलि (१८ गते) स्थायी कमिटी बैठक डाकेको छ । यदि आजको ओली उपस्थित नै भएर पनि केही निर्णय नभएको खण्डमा भोलिको स्थायी कमिटी बैठकले ओलीविरुद्ध घातक निर्णय गर्नसक्ने पनि सम्भावना छ । तर, ओली कित्ता भोलिको स्थायी कमिटी बैठक र २५ गते बोलाइएको केन्द्रीय कमिटी बैठकलाई धकेल्नुपर्ने अडानमा छ । मंगलबारकै बैठकमा पनि ओलीको यो प्रस्तावमा बहुमत सचिवालय सदस्यहरुले कुनै पनि कमिटीको बैठक रोक्न नहुने बताएका थिए ।

ओलीले आजको बैठकमा उपस्थिति नजनाएर आफ्नै ढङ्गबाट चलेको खण्डमा भोलिको स्थायी कमिटीले एक पदबाट हटाउने निर्णय गर्नसक्ने पनि उतिकै सम्भावना छ । असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल कित्ताले पहिल्यैदेखि उठाउँदै आएको ‘एक व्यक्ति एक पद’को अवधारणाअनुरुप यो निर्णय हुनसक्ने स्रोत बताउँछ । यसअघि नै नेपाल पक्षीय नेता पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सचिवालय बैठकबाट एक खालको निर्णय ननिस्केको खण्डमा नेतृत्वविरुद्ध स्थायी कमिटीले निर्मम निर्णय गर्नसक्ने बताएका थिए ।

यद्यपि, यता ओली पनि सम्पूर्ण ढङ्गबाट सुरक्षात्मक रहेका बुझिएको छ । यसैअन्तर्गत ओलीले हिजो पूर्वमाओवादी तर हाल उनैलाई साथ दिँदै आएका नेता लेखराज भट्टलाई एक कार्यक्रममा उपस्थित नहुनु भनी भनेका थिए । तर, ओलीले सबै पार्टी कमिटीहरुले गरेको निर्णय अस्वीकार गर्ने सामर्थ्य राख्छन् । यसैकारण, ओलीले पुन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना पनि रहेको छ । यसअघि नै ११ पटक पुनर्गठन गरिसकिएको मन्त्रिपरिषद् १२औं पटक पुर्याउँदै सरकारमा आफू मात्रै बस्ने पनि सम्भावना छ ।

तर, यी सबै सन्दर्भहरुको कडी आजको बैठक बन्नेछ । यदि आजको बैठकबाट दुवै अध्यक्षको प्रस्तावबाट साझा प्रस्ताव बनाएर भोलिको स्थायी कमिटीमा लगिएको खण्डमा तत्कालका लागि नेकपा विवाद साम्यजस्तो देखिनेछ । आज डाकिएको सचिवालय बैठकमा ओलीले स्वीकार नगरेपनि उनीनिकटका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘हुन्छ’ भनी भनेका थिए ।

९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयमा अध्यक्ष दाहालसँगै उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर भएपछि केन्द्रीय सचिवालयमै अल्पमतमा परेका ओलीले यतिबेला रक्षात्मक पाइला चालिरहेका छन् ।

 

प्रतिक्रिया