रहेनन् पुराना टेबल टेनिस खेलाडी सुख शाक्य

काठमाडौं । धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए ।

बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थिए । टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाएका थिए । सुख आफू खेलाडी छँदा तत्कालीन धवलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

टेबल टेनिस खेलेर पहिलोपटक धवलागिरिमा सुखले पदक भित्र्याएको सदस्यसचिव शाक्यले बताए । “धेरै राम्रो खेलाडी हुनुहुन्थ्यो, पछि उहाँको प्रशिक्षणबाट उत्पादन भएका खेलाडी पनि राष्ट्रियस्तरमा चिनिए”, शाक्यले भने । उनले सुखलाई अनुशासित र मिलनसार व्यक्तित्वका रूपमा स्मरण गरे ।

खेल प्रशिक्षणका सिलसिलामा सुख केही वर्ष कैलालीमा समेत बसेका थिए । उनले जिल्ला खेलकूद विकास समितिमा लामो समय सेवा गरे । सुखको निधनले जिल्लाको खेलजगत् स्तब्ध बनेको खेलाडी तथा प्रशिक्षक सङ्घ बागलुङका अध्यक्ष राजनकुमार पाइजाले बताए । सुखका एक छोरा र एक छोरी छन् । रासस

प्रतिक्रिया