प्रधानमन्त्री र ऊर्जामन्त्रीको एउटै इरादा ?

काठमाडौं । सोमबार बिहान रोल्पाको लाँकुरी पुगेका ऊर्जामन्त्री वर्षमान पुन प्वाक्क बोले–‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू पद छोड्न तयार हुनुभयो भने हामी दोस्रो पुस्ता सरकार र पार्टी दुवै चलाउन तयार छौं ।’ पुन पूर्वमाओवादीका गन्यमान्य नेता हुन् । अध्यक्ष दाहालनिकट उनको यो ‘भर्जन्’ ठ्याक्कै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्छ ।

प्रधानमन्त्री ओलीले यसअघि नै ‘पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गरौँ’ भनी प्रस्ताव गरेका थिए । नेतृत्व पुस्तान्तरणबारे नेकपाका अन्य दोस्रो हैसियतका नेताहरु चुपचापप्रायः रहिरहेका बेला मन्त्री पुनले यस्तो बोलेका हुन् । मन्त्री पुनले थप बोलेका थिए, ‘नेकपाका युवा नेताहरु पार्टी र सरकार दुवैको नेतृत्व लिन तयार छन् । तर, त्यसका लागि दुवै अध्यक्षबीच सहमति हुनुपर्छ ।’

यद्यपि उनले यो काम गर्दा स्वयंमता भने अपनाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले दोस्रो पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेपछि थप तरङ्गित बनेको नेकपा यतिबेला ‘वार कि पार’को स्थितिमा पुगेको छ ।

ओलीको उक्त प्रस्तावमा अध्यक्ष दाहाल कित्ताका अन्य नेताहरु प्रतिक्रियाबिहीन छन् । तर, दाहालनिकटकै नेता पुनले ओली कित्ताकै कुरा गर्नुलाई खास रुपमा हेरिएको छ ।

यता १३ मंसिरको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ३७ पृष्ठ लामो प्रस्ताव पेश गरेपछि अझ पेचिलो बनेको नेकपा आन्तरिक किचलोको मिलनबिन्दु कहाँ हो भनेर नेतृत्वनै उदासीन छ ।

प्रतिक्रिया