मुख्यमन्त्रीको उपस्थितिमा भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीको प्रांगणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै उनले यस्ताे बताएका हुन् ।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उनले भने, ‘रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निष्पक्षततालाई ध्यान दिँदै थप सहयोग गर्न रेडक्रस लगायतको संस्थालाई अनुरोध गर्दछु ।’

आज हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार ८५० मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पञ्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । ती सामग्रीहरुको जम्मा मूल्य १८ लाख ५१ हजार एक सय रहेको छ ।

नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर अर्याल, केन्द्रीय सदस्यद्वय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन निर्देशक बिपुल न्यौपाने, सञ्चार विभागका निर्देशक दिव्यराज पौडेल, स्वास्थ्य सेवा विभागका उप निर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि शुभाष दाहालको समुपस्थितिमा भएको कार्यक्रममा नेरेसो कैलाली शाखाका सभापति उत्तम जोशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय कार्यालयका कार्यक्रम संगोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि गत असारमा पहिलो चरणमा मास्क, शुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलब्ध गराइएको थियो । नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले भने, ‘कोरोना सङ्क्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको शुरक्षा र विरामीको सघन उपचारमा मद्दत पुर्याउने यो एउटा प्रयास हो ।’

प्रतिक्रिया