मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कठोर कानुन भएपनि समाज नै नबदलिएसम्म कहाँ रोकिएला लैङ्गिक हिंसा ?

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

  • सुजता लिम्बू

विराटनगर । सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कोहि प्रति शारीरिक, मानसिक वा यौनजन्य कुनैपनि प्रकारका हिंसा गर्न पाईंदैन । नेपालको कानुनले पनि लैङ्गिक हिंसालाई अपराधका रुपमा व्याख्या गर्दै दण्ड सजायको समेत व्यवस्था गरेको छ । तर, कार्यान्वयन तहमा भने अझै चुनौति छन् ।

मंसिर २ गते महोत्तरी बर्दिबासकी ६ वर्षीया बालिकाको हत्या भयो । उनका आफ्न्त, स्थानीयहरुले बलात्कारपछि हत्या भन्दै विरोध प्रदर्शन गरे । मृतक बालिकाका आफन्त र स्थानीयले हत्याआरोपित २५ वर्षीय अरुणकुमार साहको घर समेत आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गरेको फाइरिङबाट तीन जना घाइते समेत भए ।

यो लैङ्गिक हिँसाको पछिल्लो घटना हो ।

कन्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भयो । निर्मला पन्तको हत्याको विषय भिमदत्तबाट मुलुकभर नै आगोको मुस्लो फैलिए झैँ फैलियो ।

निर्मला हत्या प्रकरणलाई लिएर दवाव दिने सडकमा नै उत्रिए । दर्जनभन्दा बढी अनुसन्धान टोली कन्चनपुर पुग्यो । निर्मला पन्त हत्याको दुई वर्ष वितिसक्दा दुई प्रहरी प्रमुख फेरीए तर पनि १३ वर्षिया बालिकाले अहिलेसम्म न्याय पाएकी छैनन् ।

मंसिर २ गते, भक्तपुर १ स्थित सडकमा दुर्व्यवहार गरेको सामाजिक संजाल फेसबुकमार्फत एउटा भिडियो भाइरल भयो । जुन भिडियोमा टिकटकर निकिशा श्रेष्ठलाई ‘ओई ….का’ भनेर जिस्काईरहेको र निकिशाले आफ्नो आत्मसम्मान रक्षाका लगि जिस्काउनेहरुलाई प्रतिकार गर्दै लखेटेको देखिन्थ्यो ।

निकिशा श्रेष्ठको शारीरीक बनावट युवकको छ । तर उनि आफु युवती बनेर हिँड्न रुचाउछिन् । उनी तेश्रो लिङ्गी हुन । उनी महिलाको पहिरनमा सजिएर टिकटक बनाउन रुचाउँछिन् । युवतीकै रुपधारण गरेर निर्धक्क स्वतन्त्र भएर हिँडडुल गर्छिन ।

हरेक मान्छेलाई स्वतन्त्र भएर बाँच्ने हिँड्ने अधिकार संविधानले प्रदत्त गरेको छ तर, निकिशाले सार्वजनिक रुपमै लैङ्गिक हिंसा भोग्नु पर्यो । निकिशा जस्ता तेस्रो लिङ्गीको पहिचान अझैपनि हाम्रो समाजमा पच्न सकेको छैन ।

परम्परागत गाउँघरमा हुने लैङ्गिक हिँसा भन्दा अहिले शहरी जिवनमा हुने लैङ्गिक हिँसाका घटना बढि हिंश्रक हुँदै गएका छन् । बलात्कार, एसिड प्रहार, सार्वजनिक यातायातमा हुने दुर्व्यहार, कार्यालयमा हुने दुर्व्यहार, सामाजिक सञ्जालमा हुने दुव्यर्हार पछिल्लाे समय बढ्दाे छन् ।

माथिका उल्लेखित घटेका घटना र पात्र प्रतिनिधि मात्रै हुन ।

दैनिक रुपमा हुने हिंसात्मक घटनालाई दबाउने या पीडितले सामाजिक अपहेलना बेहोनुपर्ने अवस्थाको कारणले कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् । लिङ्गका आधारमा हुने हिंसा बढ्नुमा कतिपयले दण्डहीनतालाई मुख्य कारण मान्छन भने कतिपयले नेपालको सामाजिक संरचनालाई दोष दिईरहेका हुन्छन् । तर, दुवै अवस्था उत्तिकै जिम्मेवार हुन् ।

विगतको महिलाको अवस्थालाई तुलना गर्ने हो भने, तुलनात्मक रुपमा बर्तमानले महिलालाई अगाडी बढाउन मार्ग प्रसस्त चैं गरिदिएको छ । त्यसो त हामीले मुलुकलाई नै प्रतिनिधित्व गर्ने स्थान (राष्ट्रपति) महिला पाएको भएपनि दैनिक हुने लैंगिक हिँसामा भने कमी आएको छैन ।

महिला अधिकारवादी नेतृ भगवती चौधरी महिलालाई आर्थिक क्षेत्रमा सक्रियता गराउँदै राजनीतिक चेतना पनि प्रवाह गरे महिला हिंसाका घटना न्यूनिकरणमा टेवा पुग्ने बताउँछिन् । ‘हाम्रो पितृसत्तात्मक सोचलाई बदल्नका लागि, महिलाहरुलाई चुल्हो चोकाबाट निकाल्दै उनीहरुलाई घरपरीवार भित्र निर्णायक भूमिकामा उभ्याउन सक्यो भने महिला हिंसाका घटना न्युनीकरण हुन्छ । यसका लागि उनीहरुलाई पुरुषप्रति मात्र आश्रित हुने परम्पराबाट बाहिर निकाल्न जरुरी छ ।’ नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीको बुझाई छ ।

महिलालाई शिक्षासँगै आर्थिक क्षेत्रमा पनि सक्रिय बनाए घरभित्र हुने लैङ्गिक हिंसा न्यूनिकरण गर्न सहयोग पुग्ने चौधरीले बताइन् । महिलासँग रहेको परम्परागत सिपलाई नै व्यवसायीकरण गर्ने हो भने उनीहरु आत्मनिर्भर हुने र घरपरीवार चलाउन पुरुष सरह सक्षम हुने चौधरीको अनुभव छ । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था मार्फत देशभरका अढाई लाख महिलालाई आर्थिक क्षेत्रमा डोहोर्याई रहेकी चौधरीका अनुसार धेरै जसो महिला हिंसा आर्थिक अवस्था कमजोर भएर पनि बढ्ने गरेका छन् ।

भगवती चाैधरी, नेतृ नेकपा

उनले विगत १० वर्ष यताको राजनीतिक तथा आर्थिक परीवर्तनले परम्परागत महिला हिंसाका घटनामा कमी आएपनि आजभोली लैङ्गिक हिँसाका घटनाको स्वरुप समेत परीवर्तन भएको जिकीर गरीन् ।

‘पहिले पहिले समाजमा महिला माथि बोक्सी, डाउन, कुल्ठा जस्ता धार्मिक सांस्कृतिक विभेद गरिन्थ्यो, अझैपनि दुरदराजका गाउँघरमा यस्ता प्रथाहरु विद्यमान छन् तथापि, १० वर्ष यता महिला माथि हुने लैङ्गित हिंसाका घटनाहरु परिवर्तित भएर आइरहेका छन् ।’ आजभोली सामाजिक सञ्जालमा लैङ्गिक हिंसाका घटना बढि हुने बताइन् । ‘कसैको शारीरिक अवस्था, विचार प्रति सामाजिक सञ्जालमा घोचपेच हुने, फोटो नै विगारेर दुरुपयोग गर्ने, व्यक्तिगत चरित्र हत्या गर्ने घटनाहरु बढिरहेका छन् । यस्ता घटनाले लैङ्गिक हिँसालाई बढावा दिइरहेका छन् ।’ चौधरीको भनाई छ ।

परम्परागत गाउँघरमा हुने लैङ्गिक हिँसा भन्दा अहिले शहरी जिवनमा हुने लैङ्गिक हिँसाका घटना बढि हिंश्रक हुँदै गएका छन् । बलात्कार, एसिड प्रहार, सार्वजनिक यातायातमा हुने दुर्व्यहार, कार्यालयमा हुने दुर्व्यहार, सामाजिक सञ्जालमा हुने दुव्यर्हार पछिल्लाे समय बढ्दाे छन् ।

लैङ्गिक हिंसा अन्त्य गर्न कानुन कठोर भएरमात्र पनि हुँदैन । व्यवहारिक रुपमा हाम्रो समाज पनि उदार हुन आवश्यक छ । मुलुकी ऐनले प्रष्ट रुपमा लैङ्गिक हिंसा गर्नेलाई कानुनी दण्ड सजायको व्यवस्था गरेको छ । तर, समाजमा विद्यमान सामाजिक, विक्रिति विसंगति र परम्परागत लैङ्गिक हिंसा हटाउन त समाज नै परिवर्तन हुनु पर्दछ । जसमा लागि सामाजक सचेतनाको विकल्प नै छैन ।

लैङ्गिक हिंसा सामाजिक विभेदको कुरा रहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईकाे भनाई छ । ‘कुनै पनि लिङगको आधारमा पुरुष होस या महिला या अन्य लिङ समुहका व्यक्तिलाई सामाजिक सोच अवधारणा अनुसार जुन विभेद गरिन्छ यसलाई लैङ्गिक हिंसा भनिन्छ ।’ काममा, अवसरमा, सम्मानमा, मर्यादामा साथै प्रतिष्ठामा गरिने हिंसा लैङ्गिक हिंसा भित्र पर्ने राईले बताए ।

समाजमा महिला मात्र लैङ्गिक हिंसाकाे शिकार भएकाे पाइदैन । कतिपय अवस्थामा पुरूषहरू पनि लैङ्गिक हिंसामा परेका छन् । बालबालिका, बृद्धबृद्धा, तेस्राे लिंगी पनि लैङ्गिक हिंसाबाट पिडित छन् । तर, ८० प्रतिशत घटना चैं महिला तथा बालबाालिकामा हुने गरेकाे छ ।

0000

सबै खाल्का हिंसा विरुद्ध प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । सन १९६० मा डोमिनिकन गणतन्त्रका मिरावे परिवारका तीन जना दीदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । सोहि हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिने गरिन्छ ।

एकै परिवारका तीन दिदीबहिनीको हत्यालाई महिलाविरुद्धको हिंसाको रुपमा लिएर उनीहरुको सम्मानका लागि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन थालिएको हो ।

नेपालले पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०५४ सालबाट मनाउदै आइरहेको छ । नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । भने गत वर्षपनि विविध कार्यक्रमको आयोजना गर्दै यो अभियान मनाइयो । तरपनि, महिला हिंसाका घटनाहरु अपेक्षा गरे जस्तो न्युनीकरण हुन सकेको छैन ।

२०६२/०६३ पछि मुलुकको राजनीतिक व्यवस्थाले नयाँ मोड लिएको छ । मुलुकको राजनीति परीवर्तन भएसँगै गणतन्त्र आयो । देश संघियतामा गएको छ भने समावेशी संविधान पनि बनिसकेको छ । समावेशी संविधानका कारण राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा महिलाको सहभागितामा नेपालले पछिल्लो समय प्राथमिकता दिएको पाइन्छ । यद्यपि, यो ५० प्रतिशतकै हाराहारीमा भने हैन ।

प्रदेश नम्बर १ मा महिला हिंसाको अवस्था

१ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङक अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ को कार्तिकसम्म महिला हिंसा सम्बन्धीका तीन सय ६५ मुद्धा दर्ता भएका छन् । दर्ता भएका मध्ये २ सय ७९ वटा मिलिसकेका छन् भने ७७ वटा मिल्न बाँकी छन् । तथ्यांङका अनुसार सबैभन्दा धेरै जर्वजस्ती करणीका घटना दर्ता भएका छन् ।

प्रदेश नम्बर १ मा सबै भन्दा धेरै जवरजस्तीको मुद्दा सुनसरी जिल्लाबाट दर्ता भएको छ । सुनसरीबाट ५४ वटा जवरजस्ती करणीको मुद्दा दर्ता भएकामा २८ वटा फैसला हुँदा १७ वटा मुद्दा मिल्न बाँकी रहेको छ ।

दोश्रोमा मोरङ जिल्लामा सबै भन्दा धेरै जवरजस्ती करणीका मुद्दा दर्ता भएको छ ।

१ नम्बर प्रदेश प्रहरीको तथ्यांङक अनुसार मोरङ जिल्लाबाट ४० वटा जवरजस्ती करणीको मुद्दा दर्ता भएको छ । जसमध्ये २८ वटा मुद्दा मिलिसकेको छ भने ११ वटा मुद्धा मिल्न बाँकीे छ ।

प्रभावकारीरुपमा कानुनी दायरामा ल्याउने प्रयास

जिल्ला प्रहरी कार्यालय मोरङको मातहत प्रहरी युनिटहरुले महिला हिंसा सम्बन्धिका घटनाहरुको अपराध अनुसन्धान गरेको तथ्यांङको आधारमा १ नम्बर प्रदेशमा जवरजस्ती करणी, जवरजस्ती करणीको उद्योग बाल दुव्र्यवहार, वेचविखन साथै घरेलु हिंसा नै पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राई बताउँछन् ।

उनले भने,‘चालुआर्थिक वर्षको कुरा गरिरहँदा जवरजस्तीका घटनाहरु धेरै मौलाएको छ, महिला विरुद्ध हुने हिंसा पनि बढेको देखिन्छ ।’ थोरै मात्रामा मानववेचविखनका घटनाहरु महिला विरुद्ध अपराधहरु रहेको प्रवक्ता राईको भनाई छ ।

‘सामाजिक संरचना अनुसार विशेषत महिलाहरु नै हिंसाबाट बढी पिडित भएको अवस्था तथ्यांङले देखाएको छ’ उनले भने ।
लैङगिक हिंसा विरुद्ध हिंसा अन्त्य गर्नका लागि सामाजिक रुपमा सचेतना फैलाउनका निमित्त विभिन्न समितिहरु पनि गठन भएको छ । स्थानीय तह, प्रदेश र केन्द्र मातहतमा रहेका ती समितिहरुले काम गरेपनि लैङ्गिक हिंसा कम गर्न सकिइरहेको छैन ।

‘हामीले जिल्लास्तरमा पनि लैङ्गिक हिंसाविरुद्धको जिल्लास्तरिय समिति गठन गरेका छौं, यसको संयोजक जिल्ला संमन्वय समितिका प्रमुख हुनुहुन्छ, र सबै पालिकाहरुमा पनि लैङ्गिक हिंसा विरुद्ध समितिहरु छन् ।’ प्रवक्ता राई भन्छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले समन्वय गरेर समाजमा चेतनाका कुराहरु र भएका घटनाहरुलाई प्रभावकारीरुपमा कानुनी दायरामा ल्याउने प्रयास भइरहेको प्रवक्ता राईको भनाई छ ।

प्रतिकृयाहरु
Loading...