विद्यालय सञ्चालन स्वास्थ्य मापदण्डको नगरपालिकाद्वारा अनुगमन

चितवन । विद्यालयमा पठनपाठन सुचारु भए पछि चितवनको खैरहनी नगरपालिकाले स्वास्थ्य मापदण्डको अनुगमन तीव्र पारेको छ । खैरहनीमा यही मङ्सिर ३ गते देखि सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन सुरु भएको थियो ।

पठनपाठन नियमित नभए पनि सिकाइ सहजीकरण केन्द्रको रूपमा लिइएको छ । कोभिड १९ को सन्दर्भमा सङ्घीय सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा जारी गरेपछि स्थानीय सरकारको रूपमा रहेको खैरहनी नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरण क्रियाकलाप सम्बन्धी कार्यविधि बनाएको थियो ।

सोही कार्यविधि अनुसार विद्यालय सञ्चालन भएर नभएको अनुगमनको काम भइरहेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । कार्यविधिमा विद्यालयको भूमिका, वडा कार्यालयको भूमिका र नगरपालिकाको भूमिका स्पष्ट उल्लेख गरिएको छ ।

अनुगमनका क्रममा आफ्नो भूमिका अनुसार केही विद्यालय सञ्चालन नभएको पाइएकाले कार्यविधि अनुसार सञ्चालन गर्न पहिलो चरणमा निर्देशन गरिएको स्थानीय शिक्षा अधिकारी बानियाँले बताए । विद्यालय खुलेसँगै कोभिड १९ को जोखिम हुन नदिन प्रत्येक दिन जसो अनुगमन गरिएको उनले बताए । खैरहनीमा सामुदायिक र संस्थागत विद्यालयको सङ्ख्या ४९ रहेको छ । अनुगमनका लागि तीन वटा समूह बनाइएको छ ।

खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले सामुदायिक विद्यालयमा स्वास्थ्य मापदण्ड पूरा गराउनका लागि नगरपालिकाले आर्थिक सहयोग समेत गरेको बताए । सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन स्वास्थ्य सामाग्री खरिदका लागि प्रत्येक विद्यालयलाई २० हजार रुपैयाँ प्रदान गरिएको मेयर चौधरीले जानकारी दिए । साथै माध्यमिक विद्यालयलाई २र२ वटा र आधारभूत विद्यालयलाई १र१ वटा थर्मल गन समेत दिइएको छ ।

यस्ता छन् विद्यालयले पालना गर्नु पर्ने सुरक्षाका उपायहरु
१. विद्यालय नियमित रूपमा सरसफाइ गर्ने,आवश्यक परे सेनिटाइज गर्ने
२. थर्मलगनको व्यवस्था गरी नियमित ज्वरो नाप्नु पर्ने
३. विद्यालय वा सिकाइ केन्द्रमा प्रवेश गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्नु पर्ने
४.साबुन पानीको व्यवस्था गरी हात धुने र धुन लगाउने
५. एक बेन्चमा बढीमा २ जना विद्यार्थी राखी निर्धारित दुरी कायम गर्ने र एउटा कोठामा बढीमा २० जना सम्म विद्यार्थी हुने गरी बसाइ व्यवस्थापन मिलाउने
६. कम्पाउन्ड भित्र वा बाहिर भिडभाड हुन नदिने
७. क्यान्टिन नखोल्ने ,खाजा खानै पर्ने भए घरबाटै ल्याउने गरी व्यवस्थापन मिलाउने
८. प्रार्थना नगराउने ,अतिरिक्त क्रियाकलापको कुनै कार्यक्रम सञ्चालन नगर्ने,टिफिन र मिनी टिफिन नगर्ने
९. विद्यालय बाहिर चना चटपट बेच्न नदिने,जंग्कफुड प्रयोग गर्न नदिने
१०. साना बालबालिकालाई अभिभावकले ल्याउने लैजाने व्यवस्था मिलाउने
११. विद्यार्थी आवतजावत गर्न बसको प्रयोग गर्नु पर्ने भएमा बसमा रहेको सिट क्षमताको पचास प्रतिशत मात्र विद्यार्थी राख्ने र बस भित्र कोभिड १९ को सुरक्षात्मक उपाय सबै अवलम्बन गर्नु पर्ने, साथै विद्यार्थी ओसारपसार गरिसके पछि बसलाई निर्मलीकरण गर्ने
१२. पिसिआरको नतिजा पोजेटिभ आएका शिक्षक ,विद्यार्थी ,अभिभावक वा सरोकारवाला जो कोहीलाई पनि नेगेटिभ नतिजा प्राप्त नहुँदा सम्म विद्यालय प्रवेश नगर्ने नगराउने
१३. माथि उल्लेखित सुरक्षाका विकल्प बाहेक अन्य विकल्प भए सो समेत प्रयोग गर्ने ।

प्रतिक्रिया