वीपी प्रतिष्ठानमा इन्टर्न डाक्टरहरु आन्दोलित

धरान । दुई महिना अघि बुझाएको मागपत्र अझैसम्म पुरा नगरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरु आन्दोलित भएका छन् ।

गत असोज १४ गते र १८ गते नियमित जिवन निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने लगायतका मागहरु प्रतिष्ठान समक्ष राख्दा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कुनै चासो नदिएको भन्दै उनीहरुले आज प्रतिष्ठानको उपकुलपति कार्यालय अगाडी धर्ना दिएका छन् ।

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीले आजबाट इन्टर्नहरुले इमरजेन्सी वाहेक सबै कामहरु छाडेका छन् । ‘उहाँहरूको आश्वासन बमोजिम हामीले पूर्व निधारित आन्दोलनका कार्यक्रम फिर्ता लग्दै नियमित कामकारवाहीमा फर्केका थियौँ । यस बिच पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई हाम्रा मागहरूको सम्बोधनको सुनिश्चितताका निम्ति पुनः पटक पटक उपकुलपतिलाई भेट्न र छलफलको निम्ति समय मिलाइदिन आग्रह गर्दा, त्यसको निम्ति पनि पहल नभएपछि हामीहरु आन्दोलनमा उत्रिएका हौं ।’ जैसीले भने ।

पदाधिकारीहरुले इन्टर्नका मागहरु सम्बोधन भैसकेको भनि मौखिक आश्वासन मात्रै दिएको उनीहरुको भनाई छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिनपछि पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि आफुहरु आन्दोलनमा उत्रिएको भनिएको छ ।

आइतबार देखि इन्टर्न मार्फत् हुने सम्पूर्ण सेवा सुविधाहरू मागहरु पूर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्मका निम्ति स्थगित गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ । प्रतिष्ठानका इन्टर्नहरुले ११ बुँदे माग सार्वजनिक गरेका छन् ।

जीवन निर्वाह भत्ता सम्बन्धि यस अघि नै २०७६ जेठ १९ गते आन्दोलनरत प्रतिष्ठानमा कायर्रत इन्टर्न चिकित्सकहरू र तत्कालिन प्रतिष्ठानका पदाधिकारीहरू बिच सहमति भए बमोजिम प्रतिष्ठानका इन्टर्न चिकित्सकहरूको जीवन निर्वाह भत्ता नेपाल सरकारको ८ औँ तहको ५० प्रतिशत कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

पहिलेकै सहमति बमोजिम जीवन निर्वाह भत्तामा ३ प्रतिशत महङ्गी भत्ताको व्यवस्था भए बमोजिम नै कार्यान्वयन हुनुपर्ने,
इन्टर्न चिकित्सकहरूलाई नाइट डिउटीको निम्ति खाजाको व्यवस्था सम्बन्धि सहमति भए पनि कार्यान्वयन नभएका कारण अब उपरान्त नाइट डिउटि हुँदा खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप रु १००० प्रदान गर्नुपर्ने माग गरेका छन् ।

यसैगरी, कोभिड १९ माहामारीको समयमा प्रतिष्ठानले खटाए बमोजिम काम गर्दा हाल सम्म २५ प्रतिशत भन्दा बढि इन्टर्न चिकित्सकहरू कोरोना संक्रमित हुनुको कारण इन्टर्न चिकित्सकहरूलाई अग्रपंतिमा बसेर काम गर्नुपर्ने जिम्मेवारी भएको तर, मुख्य कारण प्रतिष्ठानले न्यूनतम सुरक्षा कवचको व्यवस्था गर्न नसक्नु नै रहेको हामीले ठहर गर्दै अब उपरान्त जीवन निर्वाह भत्तामै समाबेस गर्ने गरी माक्स, स्यानिटाइजर, फेस सिल्ड लगायत सामाग्रीहरुको निम्ति न्यूनतम थप १००० रुपैया व्यवस्था गरिनुपर्ने माग छ ।

हाल सम्म कोभिड १९ संक्रमण भएपश्चात आइसोलेसनमा बसेको समयको हाजिरी प्रदान गर्न प्रतिष्ठानले उपयुक्त व्यवस्था गरि इन्टर्नसीप तोकिएकै समयमा सकिने कुराको सुनिश्चितता गर्नुपर्ने भनिएको छ ।

प्रतिष्ठानको सबै भन्दा फरक र इन्टर्न चिकित्सकहरूका निम्ति सबै भन्दा महत्त्वपूर्ण सिकाइको अनुभव हासिल हुने पेरिफेरी पोष्टिङ यस वर्षको शैक्षिक कार्यक्रममा समावेस नभएको भन्दै उनीहरुले बाँकि रहेको ६ महिना भित्र कम्तिमा एक ठाँउमा ४५ दिनको पेरिफेरी पोष्टिङ हुने गरि व्यवस्था गर्नुपर्ने भनेका छन् ।

इन्टर्नहरूले २ महिनाको काम पुरा गरिसकेका कारण विगत दुई महिनाको बढ्नुपर्ने तलब यहि महिना भित्र उपलब्ध गराउनु पर्ने, “विद्यार्थी कल्याण समाज“ को कार्यकाल सकिएको २ वर्ष भैसकेको हुनाले विद्यार्थी कल्याण समाजको नयाँ कार्यकालको निम्ति व्यवस्था गर्न भनिएको छ ।

यसैगरी कोभिड १९ को लक्षण देखिएका इन्टर्नहरूलाई पीसीआर परीक्षण निशुल्क गरिनुपर्ने र आइसोलेसनमा भएका इन्टर्नहरूले अन्य साथीहरू डिउटिमा भएको समयमा खान समेत नपाएको भन्दै अब उपरान्त आइसोलेसन अवधि भर खानाको व्यवस्था कोभिड अस्पतालमा भए बमोजिमनै प्रतिष्ठानले व्यहोर्नुपर्ने माग गरिएको छ ।

लकडाउन खुल्ला भएसँगै प्रतिष्ठानले सम्पुर्ण विद्यार्थीहरूलाई बोलाउने तयारी गरिरहेको हुनाले होस्टलमा संक्रमीत विद्यार्थीहरूले एउटै शौचालय र बाथरुमको उपयोग गर्दा विद्यार्थीहरूमा संक्रमणको जोखिम झनै बढ्ने हुदा विद्यार्थीहरूलाई आइसोलेसनका निम्ति एउटा छुट्टै स्थान व्यवस्था गर्न पनि माग गरिएको छ ।

यसका साथै ईन्टनसीप सुरु भएको २ महिना भैसक्दा समेत २ जना विद्यार्थीको ईन्टनसीप अझै सुरु नभएको भन्दै यथासिग्र इन्टर्नसीप सुरु गर्न भनेको छ ।

प्रतिक्रिया