उद्योग वाणिज्य महासंघको निर्वाचनकाे राैनक (फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भइरहेको छ । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ बाट शुरु भएको थियो ।

आज राजधानीका तीन स्थानमा भइरहेका मतदानमा महासंघमा आबद्ध उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको छ । मतदानमा देशभरका ७७ जिल्लाका जिल्ला अध्यक्ष, केन्द्रीय प्रतिनिधि, उम्मेद्वार तथा उद्योगी व्यवसायीको बाक्लो उपस्थिति छ ।

आज विहान ८ बजेबाट शुरु भएको मतदानमा जिल्ला नगर उद्योग वाणिज्यको प्रज्ञा प्रतिष्ठानमा, वस्तुगतको टेकू स्थित महासंघको भवन तथा एशोशिएटको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा मतदान गर्ने व्यवस्था मिलाईएको छ ।

महासंघको बरिष्ठ उपाध्यक्षका लागि भइरहेको मतदानमा किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानलको चर्को प्रतिष्पर्धा रहेको छ । उनीहरु अहिले तीनवटै मतदान स्थल पुगेर आफ्ना समर्थक सहित मत मागिरहेका छन् ।

महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले शेखर गोल्छा अध्यक्ष भइसकेका छन् । अहिले बरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकाल स्वतः अध्यक्ष हुने भएकोले महासंघको निर्वाचन बरिष्ठ उपाध्यक्षको निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।

आगामी अध्यक्ष शेखर गोल्छा, बर्तमान अध्यक्ष भवानी रानाले किशोर प्रधानलाई साथ दिएका छन् । यता चन्द्र ढकाल पक्षलाई जिल्ला नगर र एशोसिएट बलियो साथ रहेको आकंलन छ ।

तीन वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार र मतदाताहरुको बाक्लो उपस्थिति रहेको छ । चन्द्र ढकाल प्यानल र किशोर प्रधान प्यानलले निर्वाचन आफुले सजिलै जित्ने दावी गर्दै आएका छन् । निर्वाचनमा अपरान्ह २ः३० बजेसम्म ७० प्रतिशत मत खसेको बताइएको छ ।

गत चैत्रमा हुनुपर्ने महासंघको निर्वाचन कोरोना संक्रमणका कारण पटकपटक गर्दै आठ महिना सरेको थियो । महासंघको साधारण सभा तथा निर्वाचनको बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

थप फाेटाेहरू

    

प्रतिक्रिया