नेकपामा ओली र दाहालको अग्नी परीक्षाः को कति ओभानो ?

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र १० महिनादेखि चर्किंदै आएको विवादले आज कस्तो रुप लेला ?, के आज प्रचण्ड वा केपी ओली मध्ये एकले झुक्नुपर्ने हो ? अथवा, अरु नै केहि हुने छ ? आम चासोको विषय बनेको छ ।

मंसिर ३ गतेको सचिबालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई गम्भिर राजनीतिक आरोप लगाउँदै दुई मध्ये एक पदबाट राजीनामा दिएर निकास दिनुपर्ने बताएका थिए । त्यसअघि नै पत्र मार्फत एक अर्काप्रति आरोप प्रत्यारोपमा पुगेका अध्यक्षद्वयको सम्बन्ध मंसिर ३ गते पछाडी झनै चिसिएको थियो ।

प्रचण्डले आफुलाई राजनीतिक जिवनकै संगीन आरोप लगाएको भन्दै केपी शर्मा ओलीले त्यसको जवाफ आजको सचिबालयमा दिने बताएका थिए । र, सोही अनुरुप तयारी पनि गरेका छन् ।

पार्टी सचिबालय ओली पक्षका एक सदस्यले अध्यक्ष प्रचण्डले मंसिर ३ गतेको सचिबालयमा प्रस्तुत राजनीतिक आरोपको कडा जवाफ दिएर प्रचण्डकै राजनीतिक हैसियत देखाइदिने सम्मको तयारी भएको बताए । ‘मंसिर ३ गते उहाँले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष प्रति जसरी आरोप लगाउनु भयो त्यो कुनै अवस्थामा पनि क्षम्य हुने छैन । अध्यक्ष ओलीले आज त्यसको काउन्टर दिनुहुन्छ । त्यसपछि मात्र पार्टी एकीकरणका विषयहरु अगाडी बढ्छन् ।’ नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने ।

नेकपा फुटको अवस्थामा जाला ?

आजको सचिबालयमा प्रधानमन्त्रीले आफु माथि लागेका आरोपको जवाफ दिँदै कार्यकारी अध्यक्षलाई समेत संकटहुने गरी राजनीतिक प्रस्ताब दर्ता गर्ने भएकाले दुई अध्यक्षविचको दुरी झनै बढ्ने र नेकपा टुक्रन सक्ने अवस्था देखिएको केही बाम विष्लेशकको भनाई छ । यद्यपि, पार्टीका स्थायी कमिटि, केन्द्रीय कमिटिका अधिकांश नेताहरु पार्टीलाई फुटको अवस्थासम्म पुर्याउन खोजिरहेका छैनन् ।

स्थायी कमिटि र सचिबालयका केही नेताहरु प्रचण्डको मंसिर ३ गतेको राजनीतिक प्रतिवेदन फिर्ता गराएर ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नै नदिने रणनीतिमा छन् । तर, गएरातीसम्म प्रचण्डले प्रस्ताब फिर्ता लिने कुनै संभावना नरहेको तथा ओलीले जे प्रस्ताब गरेपनि त्यो सचिबालयमै हुनुपर्ने बताएका छन् ।

सचिबालय सदस्य तथा बरिष्ठ नेता माधबकुमार नेपाललाई समेत ओलीले आफ्नो पक्षमा पार्न खोजेपनि हिजो रातीसम्म असफल छन् । उनले ओलीको पार्टी अध्यक्षसम्मको प्रस्ताबलाई लत्याएका छन् ।

यता ‘चेसको घोडा’ जस्तो चाल चल्ने उपाध्यक्ष बामदेव गौतमले समेत ओलीका प्रस्ताब नकारेका छन् । तसर्थ, आजको सचिबालयमा ओली अल्पमतमा रहेका छन् । तर, उनले आज प्रचण्डलाई द्वन्द्वकालिन विषय, शान्ति प्रक्रिया, माओवादी लडाकू व्यवस्थापन र सत्ता सञ्चालनमा पुर्याएको अवरोधका विषयलाई समेत कठोर ‘शब्द प्रहार’ गर्ने भएकोले ओलीको राजनीतिक प्रस्ताबपछि चैं नेकपा भित्र के होला चासो छ ।

पार्टीभित्र अन्तरविवाद हुनु सामान्य भएको बताउँदै दुई अध्यक्षले आ–आफ्ना धारणा सचिबालयमा पेश गरेपछि निकासका लागि मार्ग खुल्ने एक स्थायी कमिटि सदस्यले बताए । ‘पार्टीमा उत्पन्न विवाद र त्यसले सृजना गरेको परिस्थितिबाट कसरी अगाडी बढ्ने मार्ग खोल्नकै लागि पनि सचिबालय बैठक अपरिहार्य थियो, एकले अर्काको आलोचना गर्दै गल्ती र कमजोरीलाई स्विकार गरेर पार्टी एकीकरण तर्फ अगाडी बढ्नुको विकल्प छैन ।’ सरकार सञ्चालनमा केपी ओली कमजोर र पार्टी सञ्चालनमा प्रचण्ड कमजोर रहेकोले दुवैले आत्मलोचना गरेर अघी बढ्नु पर्ने एक स्थायी कमिटि सदस्यले भने ।

प्रधानमन्त्रीलाई प्रचण्ड पक्षले भ्रष्टाचार गरेको सम्मका आरोप लगाएकाले त्यसको प्रमाण र आधार दिनुपर्ने ओलीको तर्क छ । राजनीतिक आरोपलाई राजनीतिक ढंगबाटै जवाफ दिएपनि फौजदारीको आरोपमा आरोप लगाउनेले प्रमाणित गर्नुपर्ने ओली पक्षको धारणा छ ।

ओली पक्षका सचिबालय सदस्यका अनुसार ओलीले भ्रष्टाचार प्रमाणित गरे आफु जेलसम्म जान तयार रहेको तवरले जवाफ लेखेका छन् ।

सचिबालयमा प्रचण्ड पक्षमा पाँच सदस्य रहेका छन् । ओली पक्षमा चार सदस्य रहेका छन् । सोझो हिसाबले हेर्दा आजको सचिबालयमा प्रचण्ड बहुमतमा रहेका छन् तथापि, उनले प्रचण्डले लगाएको आरोपको जवाफ पनि दिने भएकाले त्यसपछिको माहौल के हुन्छ अनुमान गर्न सकिने अवस्था छैन ।

यता नेकपाका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सदस्य, पूर्वमन्त्रीहरु समेतले पार्टी विभाजनको अवस्थासम्म जान नहुने भन्दै सचिबालय भंग गरेर महाधिवेशन सम्म पार्टीका आन्तरिक विवाद थाँती राखेर जान समेत दुवै पक्षलाई सुझाएका छन् ।

प्रतिक्रिया