सभामुख सापकोटाको ठहर–‘दलहरुमा विज्ञताको कमी भयो’

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित संघीय संसद र प्रदेश सभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवम् अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले जनमूखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताएका छन् ।

यस्तै सभामुख सापकोटाले राजनीतिक दलहरुभित्र लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको पनि सुनाए । सभामुख सापकोटाले भनेका छन्, ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननीय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुपरेको छ ।’

सभामुख सापकोटाले बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुपरेकोसमेत बताए । ‘जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन् उनीहरुले मात्रै जनमूखी विधेयकहरु बनाउन सक्छन् । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ । मैले के भन्न खोजेको हो भने पार्टीहरुभित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन ।’

सोही कार्यक्रममा बोल्दै कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद बैठक अधिवेशन चाँडै डाकिने बताएकी थिइन् ।

 

प्रतिक्रिया