मुम्बई आक्रमणको १२ वर्षः आतंकवादी हमलाको त्यो कहाली लाग्दो दिन

काठमाडौं । पाकिस्तानी गुप्तचरी संस्था (आईएसआई) बाट निर्देशित लश्कर–ए–तोयबा आतंककारी समूहहरुले २६ नोभेम्बर सन् २००८ मा मुुम्बईका दुुईवटा पाँचतारे होटल, नरिमन हाउस, सिएसटी रेलवे स्टेशन र मेट्रो सिनेमा सहित १२ ठाउँलाई निशाना बनाएर आतंकवादी आक्रमणको १२ वर्ष पुगेको छ ।

आतंककारी आक्रमणमा ६ अमेरिकी नागरिक सहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई ‘२६\११’ का नामले चिनिन्छ । ‘२६\११’ आतंकवादी हमलाको विश्वव्यापी रुपमा निन्दा भयो । तर पनि आतंकवादी हमलाका अपराधीहरू विरुद्ध कारबाही गर्न पाकिस्तान गम्भीर नभएकोमा अन्तर्राष्ट्रिय समुदाय निराश बनेको छ ।

मुम्बई स्थित गैर सैनिक निशानाहरूमा गरिएका ती आतंकवादी आक्रमणको १२ वर्षपछि पनि मानिसहरुको मस्तिष्कमा घटना ताजै छ । यो भयंकर घटनाले पूरै विश्वलाई तरंगित पारेको थियो ।

पाकिस्तानले आतंकवादी समूहलाई राज्य नीतिको हतियारको रुपमा प्रयोग गरिरहेको आरोप छ । लस्कर ए तोयबा र जैस ए मुहम्मद जस्ता आतंकवादी संगठनलाई सञ्चालन गरी भारतमाथि हमला गराएको पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई) अझै निर्धक्क आतंककारीहरूको नेटवर्क चलाउन तल्लिन रहेको भारतीय पक्षको आरोप छ । आतंकवादी समूह लस्कर ए तोयबा पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई) बाट अझै निर्देशित–सञ्चालित रहेको भारतीय गुप्तचरहरुको विष्लेषण छ । तथापि, पाकिस्तानी आइएसआइले यसलाई स्विकार गरेको छैन ।

मुम्बई हमलाका मास्टरमाइन्ड तथा संयुक्त राष्ट्र संघले आतंकवादी मानेको लस्कर प्रमुख हाफिज सईद पाकिस्तानको आतिथ्यमा आनन्द लिइरहेको भारतीय अधिकारीको धारणा छ । सईद पाकिस्तानमा निर्धक्क स्वतन्त्र जीवनयापन गर्दै आएका छन् । पाकिस्तान आतंकवादीहरूका लागि सुरक्षित र ऊर्वर थलो रहेको भारतको आरोप छ ।

आक्रमणका मुख्य अभियुक्त सईदसहित सबै अहिले बाहिर छन् । सईदका साथी जफर इकबाल, यहया अजीज, अब्दुर्हमान मक्की स्वतन्त्र जीवनयापन गर्दै आएका छन् । अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले २५ अगस्त २००९ मा हाफिज सईदबिरूद्ध रेडकर्नर नोटिश जारी गरेको थियो । अमेरिकाले सईदलाई सईदमाथि १० मिलियन अमेरिकी डलरको पुरस्कार पनि राखेको छ ।

पाकिस्तानी सेना र सुरक्षाबल आफैंले सईद समुहलाई कारवाही गरेको बताउँदै आइरहेका छन् । सईदलाई डिसेम्बर २००१, मे २००२, अक्टोबर २००२, अगष्ट २००६ मा दुई पटक, डिसेम्बर २००८, सेप्टेम्बर २००९, जनवरी २०१७ मा पक्राउ र धरौटीमा रिहा गरिएको थियो ।

सइदले आईएसआईको सहायतामा सन् १९९० को दशकमा पाकिस्तानमा लस्कर ए तोयबा आतंकवादी समूह गठन गरेको दावि छ । अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानको नाम आतंकवादलाई पाल्ने देशका रूपमा उल्लेख गरेको छ ।

मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६६ जनाभन्दा धेरैको ज्यान गएकाे थियाे । ३ सयजनाभन्दा धेरै घाइते भएका थिए । हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएका थिए ।

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनसबाट सुरु भएको हमला ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भएकाे थियाे ।

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्र हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएकाे थियाे । फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले आक्रमण गराएको खुलासा गरेका थिए ।

तस्विरः गुगल

प्रतिक्रिया