एक वर्षमा १७ वटा कानुन निर्माण

चितवन । चितवनको खैरहनी नगरपालिकाले गत वर्षमा विभिन्न १७ वटा कानुन निर्माण गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा सो संख्यामा कानुन निर्माण गरेको हो ।
संघीयता लागू भएसँगै न्यायको काम पनि नगरपालिकाले गर्नु पर्ने भएकाले खैरहनीले गत आर्थिक वर्षमा १७ वटा कानुन बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।
बिहिवार आयोजित गत आर्थिक वर्ष २०७६/७७ को वार्षीक प्रगति समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार कर्मचारी आचारसंहिता सम्बन्धी नियमावली, लेखा समितिको कार्य संचालन सम्बन्धी नियमावली, वारुणयन्त्र संचालन तथा व्यवस्थापन निर्देशिका, युवा स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि, श्रोत शिक्षक व्यवस्थापन कार्यविधि, महिला तथा बालबालिका विकास विशेष कोष संचालन कार्यविधि बनाइएको छ ।
त्यस्तै फोहोरमैला व्यवस्थापन शुल्क संकलनमा टोल विकास संस्थालाई परिचालन सम्बन्धी कार्यविधि, युवा उद्यम घुम्ती कोष कार्यक्रम कार्यविधि नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि, खैरहनी नगरपालिकाको साझेदारीमा दुग्धजन्य उद्योगको स्थापना कार्यविधि लगायत कानुन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
सो अवसरमा एक वर्षमा विभिन्न विषयगत शाखाले गरेका प्रगति विवरण सार्वजनिक गरिएको थियो । समिक्षामा नेकपा खैरहनी नगर कमिटी अध्यक्ष लक्ष्मी ढकाल, नेपाली कांग्रेस खैरहनी नगर समिति सभापति शशी खनियां, जनता समाजवादी पार्टीका नगर अध्यक्ष राजकुमार बर्तौलाले विकास निर्माणको काम गर्दा प्राथमिकीकरण गरेर गर्न सुझाव दिए ।
सो अवसरमा खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले नगरक क्षमता अनुसार प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गरिरहेको बताए ।
विशेषतः युवाहरुलाई उद्यमशील बनाउन यस वर्ष कोष बनाएर बिनाब्याज लगानी गर्न लागेको मेयर चौधरीले बताए । नगरको विकासमा सर्बपक्षीय, सर्बदलीय सुझावलाई आत्मसात गर्दै बाँकी रहेको समयमा समृद्ध नगर बनाउन भूमिका खेल्ने उनले बताए ।








