आज तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी, यस्तो छ तुलसी विवाह विधि र विशेषता

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी, औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउछन् । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

  • यस्तो छ तुलसी विवाह विधि र विशेषता

देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।

यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवानको पूजन सहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ । दियो, कलश, गणेश सहित सबै देवी(देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलनपनि रहेको छ ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमस् भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ, त्यसपछि पहेंलो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नारिवल, दक्षिणा सहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सात पटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवानको भजन किर्तन गरी रातभरी जागराम बस्ने चलनपनि रहेकोछ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । अस्तु ।।

प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया