मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

‘प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नै दिइएन’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नदिइएको बताएका छन् । पार्टीको विवाद उत्कर्षमा पुगिरहेको बेला यस्तो व्याख्या गरेका प्रवक्ता श्रेष्ठले पार्टी र सरकार विचार, नीति, विधि र पद्धतिमा रहेर चल्नुपर्ने पनि बताएका हुन् ।

प्रवक्ता शर्माले सरकारले पार्टीको मार्गनिर्देशन मान्नैपर्ने बताएका छन् । नेपालमा सरकार एकलौटी ढङ्गले चलाउने प्रवृत्ति बढेको पनि प्रवक्ता श्रेष्ठको टिप्पणी छ ।

प्रवक्ता श्रेष्ठले विद्यमान पार्टी विवादबारे नै गरिएको प्रश्नमा नेकपाभित्र सहमतिमा काम गर्न नमान्ने र बहुमतले गर्न खोज्दा गुटबन्दी भयो भनेर निहु खोज्ने प्रवृत्ति हाबी भएको बताएका छन् ।

सरकारमाथि प्रश्न उठ्न थालेपछि त्यसको सम्बोधनस्वरुप आफूहरुले बहुमतले पार्टीलाई जोगाउन खोजेको बताएका प्रवक्ता श्रेष्ठले समस्या समाधानको बाटो के हुने भनेर आफूहरुले सोचेको पनि बताए ।

बुटवलमा अर्थमन्त्री विष्णु पौडेललाई देखाइयो कालोझण्डा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । राजधानीसँग अर्थमन्त्री पद साटेको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले मन्त्री पौडेललाई कालोझण्डा देखाएको हो ।

उनलाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएको थियो । नेवि संघ र तरुण दलका कार्यकर्ताले कालोझण्डा देखाउँदै सडकमा नाराबाजी समेत गरेका थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको थियो । यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए ।

बुधबार थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना कोरोना मुक्त, २८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ३ हजार १ सय ४० जनाले कोरोना भाइरसलाई जितेर घर पर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ६९ जना क्वारेन्टिनमा छन्।

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

सामाजिक संस्थाको रुपमा दर्ता भएको भक्तपुर दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको बताएका छन् ।

 कोरोनाको खोप प्राप्तिका लागि सरकारले यी ७ राष्ट्रलाई पठायो कूटनीतिक नोट

सरकारले कोभिड १९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलिया लगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

कोभिड(१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउदैँ उनले ठूलो सङ्ख्यामा होम आइसोलेसनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती भएको बताए ।

कोभिड(१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन पुनः स्थगित

बुधबार साँझ बालु्वाटारमा बसेको मन्त्रिपरिषद बैठक। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

“निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, “कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो ।”

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मंसिरलाई सारिएको थियो । ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो । कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ ।

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन : मृतक न्यौपानेलाई शहिद घोषणा गर्न माग

महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ।

तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ। प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन्। राजमार्गमा सवारी साधन चलेका छैनन्।

प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता छ। न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको हो।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन्।

आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न उनीहरूले माग गरेका हुन्। समितिले वार्ता गर्न भन्दै समिति गठन पनि गरेको छ।

कप्तान मल्लसहित राष्ट्रिय टोलीका तीन खेलाडीलाई कोरोना संक्रमण
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण देखिएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको मंगलबार कोरोना परीक्षण गर्दा तीनजना खेलाडीलाई कोरोना देखिएको हो ।

कप्तान मल्लले बुधबार सामाजिक संञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बनाएका छन् । मल्लले आफूमा कोरोनाका कुनै पनि लक्षण नभएको बताएका छन् ।

मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ । क्रिकेट खेलाडीहरुले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछन् ।

नेयमारको पेनाल्टीमा पीएसजीको जित

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । समूह चरणको चौथो खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १(० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । नेयमारले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

लिगमा चार खेल खेलेको पीएसजी ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चौथो चरणको खेल सकिँदा समूह एचमा म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा छ । युनाइटेडले ४ खेलमा ९ अंक जोडेको छ । पराजित लाइपजिगको पनि ६ अंक छ ।

बाइडनले घोषणा गरे आफ्नो टिम, भने- ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो’

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन् । बाइडनले आफ्नो समूहको घोषणा गर्दै भनेका छन्, ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ ।’

यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुनेछन् । राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन् ।

तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्‍याइरहेका छन् । ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी बाइडनले पाउने जनाएको छ ।

प्रतिक्रिया