सत्ताले नदेखेको ‘सपना’

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । बेलायती प्रशारण संस्था (बीबीसी) ले मंगलबार सार्वजनिक गरेको २०२० का प्रभावशाली १०० महिलाहरुको सूचीमा नेपाली चेली पनि अटाउन सफल भइन् । उनी थिइन् म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ।

फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत निःश्वार्थ भावनाले समाजसेवामा खटिएका महिलाहरुको सूचीमा नेपालकी सपना पनि परेपछि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको गर्वले छाती फुल्यो । सामाजिक सञ्जाल, फोन अथवा प्रत्यक्ष भेटमार्फत् सबैले बधाई दिए ।

सुरूमा त सपनालाई याे खबर पत्याउनै गाह्रो भइरहेको थियो । दशैं तिहार मनाउन घर गएकी सपनाले आफ्नै आँखालाई समेत विश्वास गर्न सकिरहेकी थिइनन् । अधिकांश सञ्चार माध्यममा आफ्नै खबर देखेपछि भने पत्याउन करै लाग्याे । साथीभाइ, आफन्तले प्रसंसा गरे । आमा बुवा खुशीले गदगदिए ! म्याग्दीमा छुट्टै उत्साह छायो ।

विश्वका प्रभावशाली महिलाको सूचीमा अटाइसक्दा पनि नेपालका मान्यगन्य राजनीतिज्ञ तथा सेलिब्रेटीका सञ्जालमा भने उनी अटाउन सकिनन् । आफ्ना दलका नेता/कार्यकर्ताको मृत्यु हुँदा श्रद्धाञ्जली अर्पण गर्ने, उनीहरुको स–साना सफलतामा पनि बधाई दिने प्रधानमन्त्रीले समेत सपनाको ‘सपना’ लाई हौस्याउने हुत्तीसम्म राखेनन् ।

राखून् पनि कसरी, कुर्सी जो धरमराउँदो छ । फेरि हाम्रा प्रधानमन्त्रीलाई सरकारले बिर्सिएको दायित्व नागरिकले निभायो कि टाउको दुख्ने अर्को समस्या छ । जसको ताजा उदाहरण हो– खुल्लामञ्च । युवाहरुले भोका नागरिकलाई खुल्लामञ्चमा निःशुल्क खाना बाँड्दा ‘बेइजती’ को उपमा दिने प्रधानमन्त्रीले सपनाको ‘सपनाको संसार’ र सफलताको पहिलो खुड्किलोलाई कसरी लिन्छन् त्यो भने हेर्नै बाँकी छ ।

हुन त साझा पार्टीका रविन्द्र मिश्रले भनेजस्तै– ‘कहिलेकाहिँ आफ्नोलाई चिन्न अरूको आँखा चाहिन्छ ।’ यो भनाइ विशेषगरी नेपालमा बढी लागू भएको देखिन्छ । नेपालमा सपना जस्ता समाजसेवी व्यक्तित्वहरु धेरै छन्, जसको कामको सही मूल्याकंन भएकै छैन । भ्रष्टाचारीके खुलेयाम समर्थनमा उत्रिने नेपाली राज्यबाट उल्टाे उनीहरूकाे खुट्टा तान्ने काम भएकाे छ ।

अहिले चर्चामा सपना छिन्, सपनाकै कुरा गरौँ,

१८ वर्षीय सपनाले नेपाली समाजको ‘कू–निमय’ तोडेर पशुपति आर्यघाटमा बेवारिसे शव जलाउन थालेको एक वर्ष बढी भयो । नेपालमा ‘अन्तिम दागबत्ती’ पुरुषले दिने प्रचलन छ । महिलाले शव जलाउन त के छुनसम्म पनि हुँदैन भन्ने भेदभावपूर्ण मान्यता तथा परम्पराको कडी उनको पछिल्लो कर्मको चाबीले तोडेको छ । महिलालाई कमजोर ठान्नेहरुले उनको कर्मको प्रशंसा गरेनन्, उल्टो ‘छिछि, दुरदुर’ गरेर उनलाई गिराए । न समर्थन पाइन्, न स्याबास् !

तर पनि सपना आफ्नो उद्देश्यबाट विचलित भइनन् । निःश्वार्थ भावले ‘बेवारिसेका वारिस’ बनेर उनीहरुको अन्तिम सद्गद तथा व्यवस्थापनमा निरन्तर लागिरहिन् । उनलाई यो पुण्य कर्मसँग जोडिन मद्दत गरेको उनकै ‘बेवारिसे अवस्था’ ले हो ।

सुन्दा अचम्म लागेपनि यो सपनाको यथार्थ हो । कुनै समय सुध्रिन चाहँदा चाहँदै पनि आफूलाई सहयोग गर्ने कोही नभेट्दा सडक जीवन बिताउन बाध्य भएकी थिइन् सपना, कुलतका कारण । त्यसैले पनि सडकका बेवारिसे ‘जीवन र मृत्यु’ ले उनलाई भावुक बनाउँछ र निरन्तर समाजसेवामा लाग्न प्रेरित गर्छ, डगमडाउन दिँदैन ।

सामान्य किसान परिवारमा हुर्किएपनि घरकी कान्छी छोरी सपनाका लागि भने कुनै कमि थिएन । आमाबुवाले हरेक इच्छा–आकांक्षा पुर्याइदिने हुँदा उनी निकै पुल्पुलिएकी थिइन् । उनले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यमिक विद्यालयबाट एसईई दिइन् । एसईई पास भएपछि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन् । पढाइमा अब्बल सपनाको संसार नबन्दै त्यहीँबाट भत्किन सुरु भयो । साथी संगतले उनी लागुऔषध दुर्व्यसनीतर्फ लागिन् । दुर्व्यसनीले सडकमा ल्याइपुर्यायो ।

‘सडकमा खुला आकाशमुनि बस्दा छेउमा आएर कसैले मिठो वचन बोलिदिए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । घर फर्किने बाटो पनि बन्द भइसकेको थियो’, सपनाले भनेकी छिन्–‘पश्चाताप् थियो, तर सुध्रिनका लागि कसैको साथ र सहयोग पाइरहेकी थिइनँ मैले । त्यो समय आत्महत्याको प्रयास समेत गरेकी थिएँ ।’

करिब दुई/तीन महिनाको सडक बसाईँपछि आफैँसँग ‘सही गन्तव्य चुन्ने, बाटो नबिराउने’ बाचा गरी घर फर्किने हिम्मत जुटाइन् सपनाले । आमाबुवाले पनि विश्वास गरे र उनको सपनालाई साथ दिँदै जापानी भाषा पढाए । तर जापान जाने उनको प्रयास सफल भएन ।  परिवारको सल्लाहमा काठमाडौं आएकी उनको एकदिन विनयजंग बस्नेतसँग भेट भयो । सपनाको समाजसेवा गर्ने ‘सपना’ लाई उनैले मलजल गरिदिए । अनि उनैले डोर्याएको समाजसेवाको यात्रामा निरन्तर अघि बढिरहिन् सपना ।

विनयको काँधमा काँध मिलाएर उनैको कार्यमा सघाउने उद्देश्यमा अडिग रहेकी सपना पहिलो दिन त निकै आत्तिएकी थिइन्– टिचिङ अस्पतालको शव गृहमा रहेका लास देखेर । ‘विनय बुवाले एकदिन टिचिङ अस्पतालको शव गृहमा लिएर जानुभएको थियो । पहिले त निकै उत्साहित थिएँ, मनको बाटो जो रोजेकी थिएँ । त्यहाँ पुगेपछि भने बेवारिसे लासहरु देखेर रुन मन लाग्यो’, सपना बताउँछिन् ।

पहिलो पटक पशुपति आर्यघाटमा शव जलाउँदा उनी १७ वर्षकी थिइन् । दागबत्ती दिने क्रममा आफ्नो विगत सम्झिएर उनी निकै भावुक बनेकी थिइन् । अहिले उनले करिब ९५ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छिन् । भन्छिन्– ‘आफूले पनि बेवारिसे जीवन भोगेको भएर होला, सडकमा त्यस्तो मान्छे देखेँ भने पीडा हुन्छ र आफूले सकेजति सहयोग गर्न जान्छु ।’

कुनै समय घृणाको पात्र बनेकी सपना अहिले भने निकै खुशी छिन् । खुशीको मुख्य कारण– ‘आमाबुवाको विश्वास जित्न सफल हुनु र मनले रोजेको काम अँगाल्न पाउनु ।’ विगतमा अशान्त रहेकाे उनकाे मनले अहिले शान्ति पाएकाे छ । उनले बीबीसीसँग  यीनै कुरा भनेकी छिन् । ‘विश्वभरि नै घरबारविहीन र त्यागिएका मानिसहरु छन् । सडकमै मृत्युवरण गर्ने व्यक्तिहरू पनि अन्तिम संस्कारका लागि लायक त हुन्छन् नै । म यो काम सामाजिक सेवाका लागि गरिरहेको छैन, मेरो मनको शान्तिका लागि गरिरहेकी छु’, बीबीसीले उनको भनाइ उद्धृत गर्दै लेखेको छ ।

पछिल्लाे समय काेभिड १९ काे महामारीकाे जाेखिम न्युनिकरणका लागि गरिएकाे लकडाउनकाे समय उनकाे टिमले बेवारिसे शव व्यवस्थापनसँगै  बेवारिसे अवस्थामा रहेका तथा राेजगारी गुमाएकाहरूलाई निःशुल्क खाना समेत बाँड्दै आएका थिए । रातदिन नभनि बेवारिसेहरूकाे सेवामा खटिएकी सपनाकाे तारिफ त्यतिबेला यदाकदा सुनिन्थे ।

देशको नाम संसार माझ चिनाउन पाउदा हर्षले यो छाती फुलेको छ यो खुशी तपाईंहरुले दिनु भएको अमुल्य उपहार हो सम्पुर्ण दर्शक श्रोता,देश बिदेशमा रहनुहुने सम्पूर्ण आदरणीय मान्यजन सहयोगी महानुभावहरु संचारकर्मी लगायत मलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ समर्थन र आशिर्वाद दिनुहुने तमामतमाम शुभ चिन्तकप्रती हार्दिक आभार
जय देश जय नेपाल

बेसहाराको सहारा बनेकी सपनाको अहिले सबैले गर्व गर्छन् । उनी स्वयम् पनि खुशी छिन् । उनले बीबीसीकाे १०० महिलाकाे सूचीमा समावेश भएपछि प्रतिक्रिया दिँदै भनेकी छिन्,  ‘देशको नाम संसार माझ चिनाउन पाउदा हर्षले यो छाती फुलेको छ । यो खुशी तपाईंहरुले दिनुभएको अमुल्य उपहार हो । मलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ समर्थन र आशिर्वाद दिनुहुने तमाम शुभ चिन्तकहरूप्रति हार्दिक आभार । याे सफलताले अझै अगाडी बढ्ने हाैसला मिलेकाे छ ।’

यद्यपी राज्यले भने अझैपनि सपनाको कामलाई सघाउन त परै जाओस् ‘सलाम’ मात्रै गर्नसम्म सकेकाे छैन । आफ्नो दायित्व त राज्यले बोक्न सकेको छैन नै, राज्यको दायित्व बोक्नेलाई स्याबासी समेत दिन कन्जुस्याइँ गरिरहेका छन् सत्तासीनहरू । ‘वेवारिसे शव व्यवस्थापनमा सरकारको ध्यान जान सकेको छैन । आर्थिक सहयोग नगरेपनि स्यावासी मात्र दिए पनि काम गर्न अझै हौसला मिल्ने थियो’, सपनाकाे गुनासाे छ ।

प्रतिक्रिया