‘प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नै दिइएन’

काठमाडौं । यतिबेला सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्पष्ट रुपमा दुई धारमा देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको अन्तरविरोध तथा आरोप–प्रत्यारोपकै कारण नेकपाको गाउँ कमिटीसम्ममा पनि फुटको बहस शुरु भएको छ । अर्कोतिर प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दललाई सत्ता सहयात्राको प्रस्ताव राखेको कुरा बाहिर आइरहेको छ ।

ठीक यसैबेला केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नदिइएको बताएका छन् । पार्टीको विवाद उत्कर्षमा पुगिरहेको बेला यस्तो व्याख्या गरेका प्रवक्ता श्रेष्ठले पार्टी र सरकार विचार, नीति, विधि र पद्धतिमा रहेर चल्नुपर्ने पनि बताएका छन् । ‘पार्टी र सरकार भनेको नीति, विधि, विचार र पद्धतिअनुसार चल्नुपर्छ । राजनीतिक परिवर्तन खाली राजनीतिक परिवर्तनकै लागि मात्रै भएको छैन ।’ एक अन्तरवार्ताको क्रममा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘यदि छलफल तथा बैठकलाई ठीक ढङ्गले सञ्चालन गरिएन भने पनि नेकपाले पाएको ऐतिहासिक अवसर गुमाउनेछ ।’

‘पार्टीको मार्गनिर्देशनमा सरकार चल्नैपर्छ’
प्रवक्ता शर्माले सरकारले पार्टीको मार्गनिर्देशन मान्नैपर्ने बताएका छन् । नेपालमा सरकार एकलौटी ढङ्गले चलाउने प्रवृत्ति बढेको पनि प्रवक्ता श्रेष्ठको टिप्पणी छ । उनले भनेका छन्, ‘सरकारले पार्टीको निर्णय मान्नैपर्छ । एकलौटी ढङ्गले चल्ने र आफ्नो मनोमानी गर्न कदापि पाइँदैन । हामी निष्कर्षसहित निर्णय भने गर्छौँ । तर, हामी आफैँ नै मान्दैनौँ । समस्या त यहाँनेर छ । त्यसैले पार्टीभन्दा माथि कोही पनि हुँदैन । सरकारले पार्टीको निर्णय मान्नुपर्छ ।’

यसैगरी उनले ‘निर्णय नमान्ने हो भने किन गर्नुपर्यो ?’ भनी प्रतिप्रश्न गरेका छन् । उनले भनेका छन्, ‘निर्णय चाहिँ सर्वसम्मतीले गर्ने, अनि पछि नमान्ने ? यस्तो कहीँ चल्छ ?’

‘सहमतिमा गर्न नमान्ने, बहुमतले गर्न खोज्दा गुटबन्दी भयो भन्ने ?’
प्रवक्ता श्रेष्ठले विद्यमान पार्टी विवादबारे नै गरिएको प्रश्नमा नेकपाभित्र सहमतिमा काम गर्न नमान्ने र बहुमतले गर्न खोज्दा गुटबन्दी भयो भनेर निहु खोज्ने प्रवृत्ति हाबी भएको बताएका छन् । ‘सहमतिमा गरौँ भन्दा नमान्ने अनि पछि गएर बहुमतले गरौँ भन्दा पनि गुटबन्दी गर्यो भनेर भन्ने ?’, उनले भनेका छन्, ‘बहुमतमा हुनेको कुनै ठूलो उद्देश्य नै के नै हुँदैन । वस्, पार्टीका विधि, विधान र जनताको आशालाई निभ्न नदिने काम मात्रै गरेको हुन्छ । भनौं, पार्टीलाई अकर्मन्यताको सिकारबाट जोगाउँछ । हामीले गरेको पनि त्यहीँ नै हो । अरु केही गरेको होइन ।’

सरकारमाथि प्रश्न उठ्न थालेपछि त्यसको सम्बोधनस्वरुप आफूहरुले बहुमतले पार्टीलाई जोगाउन खोजेको बताएका प्रवक्ता श्रेष्ठले समस्या समाधानको बाटो के हुने भनेर आफूहरुले सोचेको पनि बताएका छन् ।

‘अहिलेको पार्टीभित्रको समस्याको जड व्यक्तिगत प्रवृत्ति हो’
प्रवक्ता श्रेष्ठले अहिले नेकपाभित्र देखिएको समस्याको कारण नेताभित्रको व्यक्तिगत स्वार्थ र प्रवृत्ति भएको बताएका छन् । उनले बोली थियो, ‘यी सबै समस्या भनेको व्यक्तिगत स्वार्थ र प्रवृत्तिकै कारण उत्पन्न भइरहेको छ ।’

यसैगरी उनले अहिल्यै पनि यो प्रवृत्ति स्पष्ट रुपमा देखिएको बताए । ‘भन्ने नै हो भने, बैठक तथा छलफल पनि आफैँले भनेको निर्णय हुने भने मात्रै बोलाउने नभए विभिन्न बहानामा स्थगित गरिदिने, उठेर हिँडिदिनेलगायतका स्वार्थ र घाती प्रवृत्ति हामीसँग छँदै नै छ । यस्तै समस्याहरुले पार्टी र सरकारको असफलता निम्त्याउने कुरा गर्छ ।’

‘कांङ्ग्रेससँगको सत्ता सहयात्राको विषय कल्पना गर्न सक्दिनँ’
गत शनिबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर झण्डै २ घण्टा लामो छलफल गरेको थिए । जहाँ प्रधानमन्त्रीले ओलीले देउवालाई सत्ता सहयात्राको विषयमा कुराकानी गरेको र ६ देखि ८ मन्त्रालयको प्रस्तावसमेत गरेको कुरा बाहिर आएको थियो । सोही कुरालाई प्रवक्ता शर्माले भने ‘कल्पना बाहिरको कुरा’को रुपमा अर्थ्याएका छन् ।

‘कमरेड केपीले देउवाजीसँग सत्ता सहयात्राको विषयमा कुराकानी भयो भनेर जति बाहिर भनियो । त्यो होइन, त्यो म कल्पना पनि गर्न सक्दिनँ । ए बाबा, के यो हुन सक्ला र ? पार्टीभित्र चाहिँ नमिलेर प्रतिपक्षीको साथ मागेर सत्ता सञ्चालन गर्न खोज्ने कहीँ हुन्छ ?’ उनले भनेका छन् ।

यदि त्यसो हो भने, त्योजति अलोकतान्त्रिक कोही पनि नहुनेसमेत प्रवक्ता श्रेष्ठको टिप्पणी छ । यस्तैगरी उनले यो दिशामा कोही पनि जान नहुने बताउँदै त्यसै भएको खण्डमा सबैले सच्याउनुपर्ने पनि बताएका छन् ।

‘बहुमतप्राप्त सरकार ऐतिहासिक अवसरमा चुक्यो’
सत्ताधारी दलकै प्रवक्ता श्रेष्ठले आफ्नै पार्टीले एकलौटी सरकार गठन गरी पाएको अवसरमा पनि ऐतिहासिक काम गर्न नसकेको बताएका छन् ।

पार्टीले आफ्नो ऐतिहासिक कदम चाल्न नसकेको बताएका स्वयम् पार्टीकै प्रवक्ता श्रेष्ठले यो हुनुमा नेतृत्वपङ्तिमै समस्या भएको बताए । बुँदागत रुपमा सरकारको चुकाइलाई औंल्याएका प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘सरकार आफ्नो इतिहास बनाउनमा चुक्यो । जनतामाझ पुग्नमा चुक्यो ।’ (१) संविधानतः नियमानुसार हुने कामको लागि भनसुन गर्न नपर्ने अथाव घूस खुवाउन नपर्ने भनेर काम शुरु गर्नुपर्ने, (२) देशका सबै क्षमतावान् व्यक्तिहरु विदेश पलायत हुनु नपर्ने, (३) विकासको निम्ति पूँजीगत खर्च कार्यान्वयन गर्नुपर्ने र (४) व्यापार घाटा व्यवस्थापन गर्नुपर्नेलगायतको जनताको मुद्दामा सरकार नराम्रोसँग चुकेको पनि उनको निष्कर्ष छ ।

यसैबीच उनले सरकारले यदि यी मुद्दाहरुमा चुकेको खण्डमा नेकपाको राजनीतिक जीवन त्यति राम्रो नहुने पनि बताएका छन् ।

‘पार्टी विभाजन हुँदैन’
अन्य नेताहरुले जस्तो प्रवक्ता शर्माले पनि पार्टी विभाजन कुनै पनि हालतमा नहुने बताएका छन् । ‘पार्टी विभाजनको कुरा हुँदैछ । यो पक्षमा हामी पटक्कै छैनौँ । किन विभाजन हुने भन्या क्या ? के अहिलेसम्म सँगै बस्नलाई मात्रै गठबन्धन गरिएको होर ?’ उनले भनेका छन् ।

यस्तै उनले पार्टी विभाजनको पक्षमा कोही भए त्यसलाई सारा नेता/कार्यकर्ता उठेर परस्ता गर्नुपर्ने बताएका छन् ।

‘प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ, सर्त बनाउन मिल्दैन’
गत कार्तिक २८ गतेको केन्द्रीय नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्रीविरुद्ध पार्टी निर्णय नमानेकोलगायतका आरोपहरु अट्याइएको उक्त प्रतिवेदन फिर्ता लिन भनी सार्वजनिक रुपमा दाहालमाथि दबाब दिइएको थियो । खासगरी प्रधानमन्त्री ओलीनिकटका नेताहरु सूर्य थापा, शंकर पोखरेल, गोकुल बाँस्कोटालगायतले अध्यक्ष दाहालले प्रस्ताव फिर्ता लिनैपर्ने यदि फिर्ता नभएको खण्डमा पार्टीको कुनै पनि कमिटीहरुमा छलफलको विषयवस्तु नै नहुने बताएका थिए । सोही विषयप्रति बोलेका प्रवक्ता श्रेष्ठले फिर्ता लिनुस् भन्नु स्वभाविक भए पनि सर्त बनाउनु भने राम्रो नभएको बताएका छन् ।

‘प्रस्ताव फिर्ताकै कुरा गर्नुपर्दा त फिर्ता लिनुस् भनेर आग्रह गर्न त मज्जाले मिल्छ । तर, उही विषयउपर सर्त बनाउनु चाहिँ मिल्दैन ।’ आगामी १३ मंसिरमा सचिवालयको अर्को बैठक बस्दैछ । जहाँ प्रधानमन्त्री ओलीले पनि आफ्नो तर्फबाट प्रस्ताव पेश गर्ने बताइसकेका छन् ।

‘म प्रवक्ताको जिम्मेवारीबाट टाढा भएको छैन’
‘तपाईँले प्रवक्ताको जिम्मेवारी सम्हाल्न सक्नुभएन, तपाईँ गुटबन्दी रुपमा देखिनुभयो ?’ भन्ने प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठको भनाइ थियो, ‘म मेरो जिम्मेवारीबाट कहिल्यै टाढा गएको छैन । भुलेको छैन । प्रवक्ताको काम भनेको पार्टीका विधान, विचार, सिद्धान्त र विधिमा रहेर व्याख्या गर्ने, विश्लेषण गर्ने अनि आवश्यक जानकारी दिने हो, जुन मैले गरिनै रहेको छु । तपाईँहरु कसरी भन्नुहुन्छ कि म मेरो जम्मेवारीबाट भागेँ, मैले भूमिका निर्वाह गर्नै सकिनँ भनेर ?’

 

 

 

प्रतिक्रिया