यस्तो छ, प्रधानको महासंघमा रहेर काम गरेको अनुभव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा मंसिर ११ देखि १३ गतेसम्म हुने साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रमुख उम्मेदवार किशोर प्रधान पनि हुन् । महासंघले अहिलेसम्म जिल्ला नगरबाट उठेका व्यवसायीलाई अध्यक्षका रुपमा पाउन सकेको छैन । प्रधान जिल्ला नगरबाटै आएका उद्योगी हुन् ।

सामान्य उद्योगी व्यवसायी देखि ठूलासम्मले राम्रोसँग चिनेका र ती उद्योगी व्यवसायीको समस्या नजिकबाट बुझेका व्यतिm हुन प्रधान । प्रधान महासंघमा आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षका शशक्त उम्मेद्वार हुन् ।

उनीसँग महासंघमा रहेर उद्योगी व्यवसायीका लागि काम गरेको २८ वर्षे अनुभव छ । २८ वर्षअघि उद्योग संगठन मोरङको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघमा आईपुगेका प्रधान अहिलेको विषम परिस्थितिमा महासंघमा अपरीहार्य भएको भन्दै शेखर गोल्छा र पशुपति मुरारकाले खुलेरै साथ दिएका छन् । राजविराजमा जन्मिएका प्रधान २०५० साल चैत्रदेखि निरन्तर महासंघमा क्रियाशील छन् ।

उदयपूर सिमेन्ट स्थापना गर्न उनको अब्बल भूमीका थियो । सिमेन्ट उद्योग स्थापना गर्ने जापानलाई लगानीको वातावरण छ भनेर विश्वास दिलाउनुपर्ने दबाब कायमै रहेपनि सरकारले स्थानीयबासीलाई विश्वासमा लिन सकेको थिएन । प्रधानले नै उदयपूर पुगेर स्थानीय बासिन्दालाई विश्वासमा लिएपछि मात्र उदयपुर सिमेन्ट कारखाना स्थापना गर्ने वातावरण बनेको थियो ।

प्रधानले त्यत्तिबेला लगातार ३ महिनासम्म राजविराजबाट उदयपूर धाएर गाउँमा उद्योग स्थापना हुँदाका फाइदाबारे स्थानीयलाई निरन्तर जानकारी गराएँदै उद्योग खोल्न दिन सहमत गराएका थिए । एक हिसाबले भन्ने हो भने, नेपालमा उदयपुर सिमेन्टको स्थापना उनकै सक्रियतामा भएको हो ।

जुनियर चेम्बर इन्टरनेशनल (जेसिज) मा आवद्ध भएका प्रधान १९८८ मा जेसिजको राष्ट्रिय अध्यक्ष समेत भएका थिए ।

यस्ता छन सर्घषका कथा

उनले होटल अन्नपूर्णमा २ वर्ष काम गरे । होटलमा काम सिकेपछि आफैले रत्नपार्कमा रेष्टुरेन्ट सञ्चालनमा ल्याए । तर, त्यो होटल चलेन । केहि समयपछि उनले होटल बन्द गरे ।

काठमाडौँमा छोरो त्यत्तिकै बसिरहेको थाहा पाएपछि उनका पीताले उनलाई राजविराजमै फर्काएर आफ्नो उत्तराधिकारीका रुपमा काम सिकाए । आफ्नो उद्योगमै काम गर्न लगाए ।

सन् १९७८ मा राजविराज जेसिजको अध्यक्ष भएका उनी २०३६ सालमा नेपाल जेसिजको केन्द्रीय उपाध्यक्ष बने । २०३५ सालमा बैबाहिक जीवनमा बाँधिएका उनी पीताको लय समातेर १५ वर्षसम्म ठेक्कापट्टाको व्यवसायमा केन्द्रीत भए ।

ठेक्कापट्टापछि उनले ह्युम पाइप उद्योग खोले । लामो समय ठेकेदारका रुपमा चिनिएका प्रधान ह्युमपाइप उद्योगबाट उद्योगीको रुपमा उदाएका हुन् । उनले विराटनगरमा गार्मेन्ट उद्योग पनि स्थापना गरेका थिए । तर, गार्मेन्टबाट उत्पादित सामान अमेरिका गएपनि पैसा नउठेको कारणले उद्योग नै बेचेर बैंकको कर्जा तिरे ।

काम गर्दै जाँदा अनेक हण्डर खाएपनि प्रधानले कहिल्यै हार मानेनन् । व्यवसायमा असफलता व्यहोरेपनि गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति चैं उनमा असिमित थियो । पुनः रोजगारी दिने संकल्पसहित उनले सिरहाको लहानमा ह्युम पाइप उद्योग नै खोले । पछि बिजुलीको पोल उद्योग पनि सञ्चालनमा ल्याए । खुद्रा व्यापारमा पनि हात हालेका प्रधान पछि भने व्यापारबाट बाहिरिए । हाल उनी ५ वटा उद्योगको मालिक छन् ।

प्रधानले महेन्द्र गोल्छासँग सल्लाह गरेर गोल्छा अध्यक्ष, किशोर प्रधान महासचिव र मोतिलाल दुगड (हाल उद्योग राज्यमन्त्री) सचिव भएर जिर्ण हुदैं गएको उद्योग संगठन मोरङलाई पुर्नजीवन दिए । त्यहाँबाट उद्योगी र व्यवसायीको समस्या सुन्ने र समाधान गर्ने काममा प्रधान सक्रिय रहे ।

उनी उद्योग संगठन मोरङमा आवद्ध भएपछि ‘औद्योगिक प्रवद्र्धन मेला’को आयोजना गर्ने योजना बनाए । उनकै योजनामा २०५० सालमा राजा वीरेन्द्रबाट उद्घाटन भएर ‘कोशी महोत्सव–२०५०’ सफलताका साथ सम्पन्न भयो ।

उद्योग संगठन मोरङलाई पुर्नजीवन दिएपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य बने । त्यसपछि हालसम्म किशोर प्रधान महासंघकै सेवामा लागिरहेका छन् ।

महासंघको राजनीतिमा भएपनि उनले कर्मक्षेत्र राजविराज भने छोडेका छैनन् । अहिले किशोरका छोरा अरुण राजविराज उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा बाबुको पदचाप पछ्याउँदैछन् ।

२०५० चैत्रदेखि हालसम्म महासंघमा रहेका प्रधानसँग ७ कार्यकाल केन्द्रीय सदस्यका रुपमा रहेर काम गरेको अनुभव छ । महासंघको तालिम तथा विकास समिति, सदस्यता सुदृढीकरण समिति, उद्योग समिति, स्थानीय विकास समितिको सभापति भईसकेका उनी पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको सभापति पनि भए । प्रधान नेपाल चीन उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष समेत हुन् ।

 

 

प्रतिक्रिया