महासंघलाई राजनीतिबाट परराख्न व्यवसायी मिनबहादुर गुरुङको सल्लाह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ भनेको समग्र उद्योगी व्यवसायीको साझा संस्था भएकोले महासंघको गरिमा जोगाउन र महासंघलाई सबैको अपनत्व हुने गरी अगाडी बढाउन अब आउने टीमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने व्यवसायी मिनबहादुर गुरुङले बताएका छन् ।

उद्योगी व्यवसायीहरुको व्यवसायिक समस्या हल गर्न र विगतमा महासंघ स्थापना गर्ने अग्रजहरुको इतिहासलाई अझ उचाईमा पुग्ने गरी नयाँ नेतृत्वले काम गर्नुपर्ने भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका गुरुङको भनाई छ ।

‘उद्योग वाणिज्य महासंघ सबै उद्योगी व्यवसायीहरुको छाता संगठन भएकोले सबैको साझा संस्थाका रुपमा लिएर जानुपर्छ । अहिलेको निर्वाचन पनि सर्वसम्मत भएको भए सुनमा सुगन्ध हुन्थ्यो, तथापि, अब निर्वाचित भएर आउने टीमले आफुलाई राजनीतिभन्दा बाहिर राखेर काम गर्नुपर्छ ।’ गुरुङले मकालु खबरसँग भने ।

महासंघलाई अहिलेको बर्तमान अवस्थामा ल्याई पुर्याउन अग्रज नेतृत्वकर्ताहरुको ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले महासंघलाई राजनीति भन्दा पर राखेर काम गर्नुपर्ने सुझाव दिए । ‘सबैको आ–आफ्नो विचारधारा हुन्छ तर, महासंघमा आइसकेपछि नेतृत्वले राजनीतिक विचारधारा त्यागेर महासंघको निती नियममा रहेर सबैको मनमा बसेर काम गर्न आवश्यक छ ।’

महासंघका संस्थापकहरुले विगतका कठिन अवस्थामा पनि महासंघलाई जोगाएर ल्याएकोले त्यो इतिहास विर्सन नहुने उनले सुझाव दिए । ‘हामीले हाम्रो इतिहास, धरातल विर्सन हुँदैन, महासंघलाई अहिलेको अवस्थामा ल्याउन योगदान गर्ने अग्रजहरुलाई सम्मान गर्न नयाँ टीमले सक्नुपर्छ ।’

उनले बर्तमान अवस्थामा मुलुकको आर्थिक क्षेत्र धरासायी बन्दै गएकाले त्यसलाई कसरी उकास्ने त्यस सन्दर्भमा महासंघले विशेष भूमिका निर्वाह गर्नुपर्ने सल्लाह दिए । कोरोना संक्रमणका कारण सबै क्षेत्र आततायी भएको र त्यसमाथि बढि उद्योगी व्यवसायी नै मारमा परेकोले उनीहरुको पक्षमा बढि गम्भिर भएर काम गर्न सुझाए ।

‘अहिलेको परिस्थितिमा सबैले मुलुकको आर्थिक स्थिति कसरी चलायमान बनाउने, कसरी उद्योग व्यवसाय सूचारु गर्नेतर्फ ध्यान केन्द्रीत हुनुपर्छ । राज्यसँग सहकार्य गरेर मुलुकको आर्थिक बृद्धिदर उकास्न अबको टीमले ध्यान दिनुपर्छ ।’ गुरुङले भने ।

महासंघको निर्वाचन अगाडी प्यानल–प्यानल बनाएर उद्योगी व्यवसायी हिँडेपनि निर्वाचन पश्चात जो सुकै आएपनि उसले स्वतन्त्र भएर संस्था प्रति उत्तरदायी भएर काम गरेमात्र भलो हुने उनको भनाई छ ।

प्रतिक्रिया