‘१० वर्षभित्र मुलुकको अर्थतन्त्र दोहोरो अंकमा लैजाने रोडम्याप हामीसँग छ’ (भिडियाे सहित)

काठमाडौं । आगामी १० वर्षभित्र मुलुकको आर्थिक बृद्धिदर दोहोरो अंकमा पुर्याउने गरी काम गर्ने रोडम्याप आफुहरुसँग रहेको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले बताएका छन् ।

व्यवसाय गर्ने वातावरण नहुँदा पलायन भएका व्यवसायीलाई समेत समेट्ने गरी सबै क्षेत्रलाई समेटेर दिर्घकालिन र अल्पकालिन योजनाहरु समेत बनाइने उल्लेख गर्दै प्रधानले सरकारसँग बलियो लविङ गरेर आउँदो १० वर्षमा मुलुकको आर्थिक बृद्धिदर दोहोरो अंकमा लैजाने दावि गरे ।

‘१० वर्षभित्र मुलुकको अर्थतन्त्र दोहोरो अंकमा लैजाने हाम्रो प्रयास हुनेछ । त्यहि अनुरुप सरकारसँग लविङ गर्छौं । रोडम्याप बनाउने छौं ।’ महासंघको आगामी निर्वाचनमा संस्थापन पक्षको प्यानलका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले भने ।

उनले महासंघलाई राजनीतिकरणबाट मुक्त गराउनु समेत आफ्नो प्यानलको मुख्य उद्देश्य रहेको बताउँदै महासंघ समग्र उद्योगी व्यवसायीहरुको व्यवसायिक संस्था रहेको बताए । विगतमा केही व्यक्तिका कारणले महासंघमा राजनीतिकरण भएपनि अब त्यस्तो नहुने पनि जनाए । ‘विगतमा केही व्यक्तिगत कारणले राजनीतिकरण भयो तर, अब हामी संस्थाको सृदृढिकरण र सुद्धिकरणमा लागेका छौं । १० वर्षभित्र महासंघलाई नयाँ उचाईमा लिएर जाने छौं ।’

उनले संस्थालाई राजनीतिबाट बाहिर ल्याउन विशुद्ध रुपमा व्यवसायीकरण गर्ने र महासंघलाई राजनीतिबाट मुक्त बनाउने प्रयास रहने जनाए । ‘कसैको प्रभाव र दवावमा हामीले काम गर्नु हुँदैन । यसो गर्दा व्यवसायीका लागि काम गर्न सक्दैनौं । साना ठूला सबै व्यापार व्यवसायलाई समेटेर अगाडी बढ्ने हाम्रो प्रयास रहने ।’ प्रधानको तर्क छ ।

उनले संस्था चलाउनका लागि महासंघको नेतृत्वमा पुग्नेले निःस्वार्थ भावनाले काम गर्नैपर्ने समेत बताए । उनले सचिबालयको समेत सुदृढिकरण गर्ने बताए । सचिबालयलाई चुस्त दुरुस्त बनाउन योजना बनाइएको बताए ।

महासंघले मोफसलमा रहेका उद्योगी व्यवसायीको समस्या समाधान गर्न नसकेको आरोप लागिरहेको बेला बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले आफुसमेत मोफसलबाट आएकाले त्यहाँका साना तथा मझौला उद्योगी व्यवसायीको समस्या बुझेको बताउँदै मोफसलका व्यवसायीहरुले खासगरी बैकिङ कर्जामा ठूलो समस्या भोग्नु परेको बताए ।

आफु मोफसलमा रहेका उद्योगी व्यवसायीको समस्या समाधान गर्न जुनसुकै समय तत्पर रहेको प्रधानको भनाई छ । ‘हाम्रो टीम जुनसुकै केसमा जुनसुकै हालतमा समस्या समाधान गर्न अग्रसर हुन्छ ।’ उनले दावि गरे ।

प्रधानले विगतमा केही व्यक्तिगत स्वार्थले महासंघले काम गर्न नसकेको स्विाकार गर्दै पदमा पुग्ने वित्तिकै उद्योगी व्यवसायीलाई विर्सने बानी बदल्नु पर्ने बताए । आफ्नो टीममा देशको अर्थतन्त्र उकास्नका लागि आफ्नो सम्पूर्ण जिवन व्यतित गरेका व्यक्तिहरु रहेको बताउँदै उनले यसपटक आफ्नो प्यानललाई बहुमतका साथ विजयी बनाउन पनि उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया