गैंडा संरक्षणमा चुनौती, चेपाङलाई संरक्षणमा प्रेरित गरिँदै

ध्रुवराज खनाल-
चितवन । पछिल्लो समय गैंडा संरक्षणमा चुनौती थपिएको बेला चितवनका चेपाङ समुदायलाई यसको संरक्षणमा प्रेरित गर्ने उपायको खोजी गरिएको छ । कुनै समय चेपाङहरुको संलग्नमा चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकार व्यापक मात्रा भएको थियो । चोरी सिकारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएको तथ्यांक छ ।

कतिपय चेपाङहरु जेल जीवन बिताएर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् । कैद भुक्तान गरेर फर्किएका केही पुनः तस्करमा संलग्न हुन थालेपछि गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गर्न खोजिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले त्यहीँ समुदायका व्यक्तिहरुलाई पुनः संलग्न हुन नदिन जिबिकोपार्जनको बाटो खोजिएको छ ।

त्यसका लागि चेपाङ समुदायका व्यक्तिहरुसँग दुई चरणमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । एउटै गाउँका प्रायः सबै गैंडा तस्करमा संलग्न भएको निकुञ्जको भनाइ छ । राप्ती १० का कोराकका केही भाग र कालिका ११ को सैपाम र बांसघारिका झन्डै ६० जना भन्दा बढी गैंडा तस्करमा संलग्न छन् ।

कोराकका चेपाङसँग कात्तिक १९ गते अन्तरक्रिया गरिएकोमा आज सोमबार कालिका ११ का चेपाङसँग तस्कर नियन्त्रणका बारे उनीहरुको गुनासा, समस्या तथा सुझाव संकलन गरिएको छ ।

सोमबारको कार्यक्रममा तस्करमा संलग्न भएका उपस्थित नभए पनि उनीहरुका आफन्त र गाउँले सहभागी थिए ।

उनीहरुले शिक्षालाई प्राथमिकता दिएर आयआर्जनका कार्यक्रम संचालन गर्नु पर्ने बताए । कालिका ११ सैपामका सुन्दर प्रजाले गैंडा संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम र शिपमुलक कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

‘बिहान खाए बेलुका के खाने ? समस्या छ’ सुन्दर प्रजाले भने, ‘अशिक्षाका कारण हामिलाई प्रयोग गरियो, अब चेतनामुलक कार्यक्रम गरेर आयाआर्जनलाई जोड्नु पर्छ ।’ सुन्दर प्रजा अघि भन्छन्, ‘आफै सुरक्षित नभए कसरी गैंडाको संरक्षण गर्नु । आफै सुरक्षित भन्नू आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनु तर्फ इंगित थियो ।

सोही स्थानकी कुमारी चेपाङका श्रीमान पनि अहिले गैंडा तस्कर अभियोगमा जेल जीवन बिताइरहेकी छिन् । उनी भन्छिन् ‘गैंडा मारेको आरोपमा श्रीमान जेलमा छन्, तीन जना बालबच्चा पाल्न गाह्रो छ ।’

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा तस्करको आरोपमा पक्राउ परेकाहरु जेल जीवन बिताएर पुनः त्यस्तै कार्यमा लागेको बताए । यो पनि एउटा संरक्षणका लागि चुनौती रहेको उनको भनाइ थियो ।

जेलबाट छुटेकालाई र अन्य व्यक्तिहरुलाई त्यस्तो कार्यमा नलाग्न उत्प्रेरित गर्न आवश्यक रहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

रास्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेले मध्यवर्ती क्षेत्र आसपासमा मात्र संरक्षणको काम भाइरहेको अझ यसलाई प्रभावकारी बनाउन चेपाङ समुदायमा पनि कार्यक्रम बिस्तार गर्न लागिएको बताए ।

सैपाम र बांसघारीमा पर्ने कालिका सामुदायिक बनका अध्यक्ष माधव गिरीले यहाँका धेरै जसो मानिस गैंडा तस्कर काण्डमा मुछिएका बताए । आफ्नो उब्जनिबाट दुई तीन महिना पनि खान नपुग्ने उनीहरु सबै क्षेत्रमा पछाडी परेको गिरीले बताए ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वनले संरक्षणमा सबैले अपनत्व लिनु पर्ने बताए ।

मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति अध्यक्ष प्रकाश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा मृगकुन्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष दुर्गा प्रसाद घिमिरे, खगेन्द्र मल्ली उपभोक्ता समिति अध्यक्ष नवराज पाठक, तालका सहप्रबन्धक कमल राई लगायतले संरक्षणमा सबै एकजुट हुनु पर्ने बताए ।

चितवन रास्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शुन्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेको छ ।

चितवन रास्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्कर भएको इतिहास समेत छ ।

प्रतिक्रिया