भारतीय विदेश सचिव हर्षवर्धन यसै साता नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगाल यसै साता नेपाल आउँदै छन् । नेपालस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार हर्षवर्धन बिहीबार दुई दिने भ्रमणको लागि काठमाडौं आउन लागेका हुन् ।

नेपाली भाषाको समेत ज्ञान रहेका हर्षवर्धन विदेश सचिव भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

दूतावासले उनको नेपाल भ्रमणलाई नेपाल-भारतबीचको सम्बन्ध र दुई देशबीचको नियमित उच्चस्तरी आदानप्रदानको निरन्तरता भएको बताएको छ । भ्रमणका क्रममा हर्षवर्धनले नेपालका उच्च अधिकारीहरुसँग भेटेर द्विपक्षीय छलफल गर्ने विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।’

यस अघि भारतीय गुप्तचर संस्था‘रअ’ का प्रमुख सामन्त गोयल र स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवढणे पनि नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया