सडकमा ‘बेवारिसे’ अवस्थामा काेही कसरी आइपुग्छन् ?

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । ०७५ साल । साउन महिना । ११ गते । रातको ११ बजे । झमझम् पानी परिरहेको थियो । महाराजगञ्ज रिङरोडमा सानो बच्चालाई टाउको तलतिर, खुट्टा मास्तिर पारी झुण्डाएर यताउति हिँडिरहेकी थिइन् एक महिला ।

त्यो दृश्य हेर्दा लाग्थ्यो– उनको हातमा निर्जिव पुतली छ । तर वास्तवमा त्यो उनी स्वयमकाे बच्चा थियो र ती महिला मानसिक रोगी थिइन् । महाराजगञ्ज प्रहरीको सहयोगमा बेवारिसे अवस्थामा सडकमा रहेका आमा र बच्चा दुवैको उद्धार गरियाे । अहिले छोरी दुई वर्षकी भइन्, मानव सेवा आश्रममा छिन् भने आमाको उपचारका क्रममा मृत्यु भइसकेकाे छ ।

०००

करिब २५/२६ वर्षका नारायण पौडेल (नाम परिवर्तन) को आमाबुवा अचानक बिते । दाई भाउजुसँग मन मिलेन । उनीहरुको व्यवहार चित्त नबुझेपछि उनी डिप्रेशनमा गए अनि सडकमा आइपुगे । सडकबाटै मानव सेवाको टोलीले उनको उद्धार गरी काउन्सिलिङसँगै उपचार गर्यो । करिब ६ महिनापछि उनी निको भए र भने– ‘मलाई केही सिप सिकाइदिनुस्, म आत्मनिर्भर बन्न चाहन्छु ।’ तालिम पुरा भएपछि टोलीले उनी ठिक भएको भन्दै उनको दाजुभाउजुलाई काउन्सिलिङ गर्यो र परिवारको जिम्मा लगाएर फर्कियो । आत्मनिर्भर बनेका ती युवा केही समयपछि आश्रममा आइपुगे– डोनेशन दिन !

०००

शान्तिप्रिया अर्थात् पीएचडी डाक्टर, नेपाल सरकारको पूर्व उपसचिव । फ्रान्सबाट जडिबुटीमा पीएचडी गरेकी शान्तिप्रिया जडिबुटी प्रशोधन केन्द्रको उपसचिव थिइन् । सेवा पुरा गरेर फर्किएकी उनलाई पछि शारीरिक समस्या देखियो । घर, सम्पत्ति सर्वसम्पन्न हुँदाहुँदै पनि उनी घरभित्रै बेवारिसे भइन् ।

हुन त मानिसहरु प्राय: घर, परिवार नभएर बेवारिसे अवस्थामा पुग्छन्, तर उनी सबथोक भएर पनि बेवारिसे अवस्थामा पुगिन् । अविवाहित रहेकी उनको हेरचाह गर्ने मान्छे भएनन् । उनको अवस्थाबारे जानकारी पाएपछि मानव सेवाको टोलीले वडा कार्यालयको रोहबरमा घरैबाट उनको उद्धार गर्यो ।

प्यारालाइज्ड अवस्थामा रहेकी उनी किड्नी र पाठेघरको रोगबाट ग्रसित थिइन् । पिसाब चुहिने समस्याका कारण दिनमा दुई तीनवटा डाइपर फेर्नुपर्ने अवस्था थियो । उद्धार गरिएको करिब एक वर्षपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।

०००

भक्तपुरको दधिकोटमा रहेको एक पाटीमा करिब ६५/७० वर्षकी वृद्धा बस्थिन् । बोल्न नसकेपनि कसैको घरमा खेतीपातीका काम सघाइदिएर पेट पाल्दै आएकि थिइन् । कहिलेकाहीँ एक जना महिला प्रहरीले उनलाई खाना लगेर दिन्थिन् ।

सधैँ त्यहीँ हुने ती आमा एकदिन अचानक हराइन् । दुई/चार दिनसम्म पनि देखा नपरेपछि खोजी सुरु भयो । उनी त्यहीँ भत्केको पाटीकै ईँटाको पछाडिपट्टी विभत्स अवस्थामा फेला परिन् । उनको सामूहिक बलात्कार भएको रहेछ ! उठेर हिँड्नै नसक्ने अवस्थामा पुगेकी उनलाई त्यहीँका महिला प्रहरीले सेवा घरसम्म बोकेरै ल्याइदिए । बोल्न नसकेकै कारण उनीमाथि कसले बलात्कार गर्यो, उनका परिवार को हुन्, अझै पत्ता लाग्न सकेको छैन ।

यस्तै मानव सेवा आश्रमले बलात्कारमा परेकी एक १५ वर्षीय किशोरी तथा उनको पनि उद्धार गरेको थियो । बलात्कारमा परी शिशु जन्माएको एक महिनामा नै हजुरआमाले शिशुका पीतालाई रेप केसमा आजिवान कारावास पठाएपछि आमा र बच्चा सडकमा आइपुगे । त्यहीँबाट मानव सेवाले उद्धार गर्यो । अहिले बच्चा र आमाले आश्रय तथा परिवार पाएका छन् ।

०००

यी त बेवारिसे अवस्थामा आइपुगेका केही प्रतिनिधि कारण र पात्र मात्रै हुन् । यी बाहेक कोही कुलत, वृद्धावस्था तथा शारीरिक अशक्तताका कारण सडकमा आइपुग्छन् भने कोही अभाव, प्रभाव र प्रलोभनका कारण । कति शिशु तथा वृद्धवृद्धालाई परिवारले नै छोडिदिएका उदाहरणहरु पनि कैयन् छन् ।

अर्को कुरा समाजमा मनोरोगलाई ठुलो हाउगुजीका रुपमा लिइन्छ र मनोरोगीको उपचार तथा उद्धार गर्नुको सट्टा ‘पागल भयो, यसको जीवन सकियो’ भनेर त्यही हालतमा छोडिदिने गरिन्छ । र ऊ सडकमा आइपुग्छ, बेवारिसे अवस्थामा ।

यस्तै अलिकति अशक्त तथा वृद्धावस्थामा पुगेपछि हेरचाह नगरी परिवारले नै उसलाई तिरस्कार गर्न थाल्छ । कति त ‘परिवारको बोझ किन बन्नु, बरु मागेर खान्छु तर परिवारलाई दुःख दिएर घरमा बस्दिन’ भन्ने सोचेर सडकमा आउँछन् भने कतिलाई परिवारसँग बस्न मन हुँदाहुँदै पनि सडकमा परिवारले नै छोडिदिन्छन् ।

कोही भने माया, प्रेम, सम्पत्ति सबै चीज साथमा हुँदाहुँदै पनि आफ्नै स्वभावका कारण तथा परिवारसँग मिल्न नसकेर अथवा जीवनको सही अर्थ नबुझेर आफैँ सडकमा आएर बेवारिसे जीवन बिताउने गर्छन् । कसैलाई साथीसंगतले पनि सडकको यात्रासम्म डोर्याउँछ ।

के कसैलाई बेवारिसे अवस्थामा पुग्नबाट राेक्न सकिन्छ ?

कसैलाई बेवारिसे अवस्थामा सडकमा पुग्नबाट जोगाउन समाज, परिवारसँगै व्यक्ति स्वयमको पनि महत्वपूर्ण भूमिका रहने मानव सेवा आश्रमकी सुमित्रा चाैलागाईँ बताउँछिन् । ‘पहिलो कुरा त आफू स्वयम् सकारात्मक सोचले भरिपूर्ण हुनुपर्छ । खुशी हुने कला सबैमा हुनुपर्छ । यसले हरेक परिस्थितिलाई स्वीकार गर्न सक्षम बनाउँछ र त्याे मानिस कहिल्यै फ्रस्टेशन, डिप्रेशनमा जाँदैन’, उनको भनाइ छ ।

यदि सरकार तथा समाजले परिवारमा भएका ज्येष्ठ नागरिक र असहायहरुलाई परिवारमा नै रहन सक्ने वातावरण सिर्जना गरिदिने हो भने पनि वृद्धवृद्धा तथा असहायहरु सडकमा छोडिने तथा आइपुग्ने अवस्था सिर्जना नहुने उनले बताइन् । ‘समाजले वृद्धवृद्धा, अशक्त तथा असक्षमहरुमा कुनै भेदभाव गर्न भएन’, उनी भन्छिन्–‘साथै घरमा रहेका आमाबुवाको संरक्षण नगर्ने परिवारलाई सरकारबाट पाउने सेवासुविधा नै नदिने खालका नीति नियमहरु सरकारले निर्माण गर्ने हो भने पनि सडकको कठिन जीवनशैलीबाट कोही गुज्रनै पर्दैन ।’

कस्तो हुन्छ सडकमा ‘बेवारिसे’ अवस्थामा आइपुग्नुअघिकाे मानसिकता ?

मनोविद् एवम् अब्बल–WE कि प्रबन्ध निर्देशक विजया बिजुक्छेका अनुसार घर–परिवारमा आफू अनुकुल वातावरण नभएपछि बालबालिका, अशक्तदेखि वृद्धवृद्धाहरुसम्म घर छोडेर हिँड्छन् । कोही हरेक चाहनाहरु पुरा हुँदाहुँदै पनि घरको वातावरणमा घुलमिल हुन नसकेर स्वेच्छाले जिउँछु भन्दै घर छोडेर हिँड्छन् भने कोही शारीरिक, आर्थिक, मानसिक हिंसा, तिरस्कार, घृणा सहन नसकेर तथा मायाको अभावका कारण घरबाट निस्किन्छन् ।

बालबालिका (१८ वर्ष मुनि) हरु माया, सम्मान भनेको बुझ्दैनन् तर उनीहरू परिवारका सदस्यले आफूलाई कतिको महत्वपूर्ण ठान्छन्, उनीहरुको कुरा कतिको सुन्छन्, कतिको घृणा तथा भेदभाव गर्छन्, यी कुराहरु आफ्नै हिसाबले सोच्छन् र सहन नसकेपछि घरबाट हिँड्छन् । अर्को कुरा कतिपय परिवार तथा आमाबुवाले हेला गर्ने, हिंसा गर्ने, खान नदिने, अत्यावश्यक वस्तुहरुको माग गर्दा पनि कुटपिट गर्ने, गाली गर्ने गर्छन् । जुन कुरा कमैले मात्रै सहन सक्छन् ।

सहन सक्नेहरु बारम्बारको यातना सहेर त्यहीँ बस्छन् अनि तनावका कारण विस्तारै डिप्रेशन तथा अन्य मानसिक रोगको शिकार हुन्छन् र परिवारले नै गाउँ/टोलदेखि ढाटा, सडकमा ल्याएर छोडिदिन्छन् । सहन नसक्नेहरु भने ‘घर छोडेपछि दुःख हुन्छ, सडकमै बस्नुपर्छ, चिसो भुइँमा सुत्नुपर्छ, भोकै बस्नुपर्छ’ भन्ने थाहा हुँदाहुँदै पनि आँट गरेर परिवार छोडेर हिँड्छन् ।

नाइँ भन्न र खुलेर बाँच्न सिकाउनुपर्छ…!

हाम्रो सामाजिक संरचना ‘आश्रय, संरक्षण दिने व्यक्ति तथा आफूभन्दा ठुलाले भनेको मान्नैपर्छ, उनीहरुको निर्णय तथा आग्रहको प्रतिकार गर्न हुँदैन, झुक्नैपर्छ’ भन्ने किसिमको छ । यो अवस्था प्रायः बालबालिका, महिला र वृद्ध अवस्थामा पुगेका व्यक्तिहरुमा लागु हुन्छ । यस्तो किसिमको सामाजिक संरचना र सिकाइ प्रणालीका कारण मानिसहरु आफुलाई चित्त नबुझेका कुराहरु खुलेर अरुसामु राख्न सकिरहेका छैनन् । व्यक्ति र समाजबीचको सम्बन्ध नै त्रासपूर्ण र डरलाग्दो छ ।

हाम्रो समाज तथा परिवारले बाल्यकालदेखि नै ‘अरुका कुरा चित्त नबुझ्नु, नमान्नु भनेको झगडा गर्नु होइन, कसैको अनादर गर्नु होइन, एक व्यक्तिलाई राम्रो लाग्ने चीज अर्को व्यक्तिलाई नराम्रो लाग्न पनि सक्छ, त्यसैले नाइँ भन्न पाउनुपर्छ । र नाइँ भन्न पाउनु मेरो अधिकार हो’ भन्ने कुरा सिकाउनुपर्ने मनोविद् विजया विजुक्छें बताउँछिन् ।

‘सबैलाई खुलेर बाँच्न सिकाउनुपर्छ । स्वतन्त्र रुपमा बाँच्न पाउनु सबैको अधिकारको कुरा हो । परिवार तथा समाजमा हिंसा गर्नेलाई प्रतिकार गर्न पाउनुपर्छ भन्ने खालका सिकाइहरुको विकास गर्नुपर्छ । अर्को कुरा बोल्ने कसरी र सुन्ने कसरी यी दुई वटा कुराका बारेमा पनि सिकाइ जरुरी छ’, उनी भन्छिन्– ‘मान्छेलाई एउटा त बोल्न आउँदैन, अर्को त सुन्न आउँदैन । बोलेका कुरा सुन्ने मान्छेले राम्रोसँग नसुनिदिएपछि अर्थको अनर्थ भइदिन्छ । अनि यसैले परिवारमा तनाव, झैझडा सिर्जना गर्छ ।’

विदेशको तुलनामा नेपालमा जटिल किसिमका मानसिक समस्याहरु कमै मात्रै पाइएको उनी बताउँछिन् । ‘यहाँ हामी परिवारसँग बस्छौँ । परिवारको साथ पाउने हो भने मानसिक समस्याबाट जो कोही छोटो समयमा नै स्वस्थ अवस्थामा फर्कन सक्छ’, उनको भनाइ छ ।

०००

पछिल्लो समय कोरोना नियन्त्रणका लागि लामो समयसम्म गरिएको लकडाउनका कारण परिवार सबै एकै ठाउँमा थुनिएर बस्नुपर्यो, जसकारण हिंसासँगै घर छोडेर हिँड्ने तथा आत्महत्या जस्ता क्रियाकलापहरु झनै बढिरहेका छन् ।

लकडाउनको सुरुवाती चरणमा रोजगारी खोसिएका केही मानिसहरु पनि सडकमा खानाका लागि आइपुगेका थिए । अहिले सबै क्षेत्र खुलिसकेको अवस्थामा खुल्लामञ्चमा साँझ/बिहानको दृश्य नियाल्दा नि:शुल्क खानाकाे भर पर्नेहरूमा वर्षौँदेखि बेवारिसे अवस्थामा रहेकाहरु मात्रै देखिन्छन् ।

अन्य समय सडकमा फाट्टफुट्ट मानिसहरू मात्रै ‘बेवारिसेहरू’ अवस्थामा भेटिन्थे । लकडाउन पछि भने ‘खुल्लामञ्चको निःशुल्क खाना’ ले सबैलाई एकै ठाउँमा भेला गरायो र त्यही भेला सरकारकाे आँखामा तारो बन्यो । काठमाडाैं महानगरपालिका उल्टाे उनीहरूले पाएकाे गाँस समेत खाेस्न लागि पर्याे । ‘शहर फाेहाेर भयाे । मागिखानेहरूकाे थलाेका रूपमा काठमाडाैं चिनियाे’ भन्दै मेयर विद्यासुन्दर शाक्यले बुेतुककाे स्पष्टिकरण दिए । र, प्रधानमन्त्री केपी शर्मा ओली पनि मेयरकै समर्थनमा उत्रिए ।

भोका तथा बेवारिसे नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने समयमा नागरिकले सहयाेगी दाताहरूबाट पाएकाे गाँस समेत खाेस्न खाेज्नुले सरकार नागरिकहरूप्रति उत्तरदायी छैन भन्ने स्पष्ट हुन्छ । आफ्नो राजनीतिक अस्तित्व संरक्षण गर्न तथा आलोचनाबाट बच्न  अनावश्यक बहाना बनाएर सरकार आफ्ना नागरिकप्रति गैरजिम्मेवार हुनुहुँदैन । धनाढ्य हुन् या बेवारिसे, सबै नागरिकप्रति सरकारले समान व्यवहार गर्नुपर्छ । समान रूपमा नागरिककाे हकअधिकार सुनिश्चित गरिदिनुपर्छ।

प्रतिक्रिया