ओलाङचुङगोलामा ओलीको बोली–‘सरकारको राम्रो काम देखेर केही तत्वलाई असह्य भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको बताएका छन् । सोमबार (आज) फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवन उद्घाटन गर्न ताप्लेजुङ पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको बताएका ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भइरहेको पनि बताएका छन् । यस्तै उनले निराधार हल्लाको पछाडि नलाग्नसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रणालीविरुद्ध नै प्रहार भइरहेकाले सबै सचेत हुनुपर्ने पनि बताएका छन् । यस्तै उनले भारतद्वारा मिचिएको नेपालको भूमि फिर्ता लिने, छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै लैजाने पनि बताएका छन् ।

घुन्साजस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगम हुनेगरी विकासका योजनाहरु सञ्चालन गरिने प्रधानमन्त्रीको आश्वासन थियो ।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेकी छन् ।

प्रधानमन्त्रीसँगै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगश भट्टराईलगायतका नेताकार्यकर्ताहरु ताप्लेजुङ पुगेका छन् ।

 

प्रतिक्रिया